जलजलामा हात्तिपाइले रोग निवारण योजना

  • ५ फाल्गुन २०७५, आईतवार
  • 1879 पटक पढिएको

सन्तोष गौतम
लामाखेत ५ फागुन । जलजला गाउँपालिकाले हात्तिपाइले रोग निवारणका लागि आम औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन योजना तयार पारेको छ । हात्तिपाइले रोग न्युनीकरणका लागि फागुन १५ र १६ गते पर्वत लगायत देशका १५ जिल्लामा सञ्चालन हुन लागेको औषधी सेवन कार्यक्रमलाई सफल बनाउन आइतबार गाउँपालिकाको केन्द्र लामाखेतमा भएको गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरुको गोष्ठिले योजना बनाएको हो ।

विगतका वर्षका अनुभवका आधारमा सबैलाई औषधी खुवाउनका लागि ९ वटै वडाका जनप्रतिनिधिहरु र महिला स्वास्थ्य स्वमसेवीकाहरुसँग समन्वय गरेर स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाइएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दिलेराम कामतिले जानकारी दिनुभयो ।

गाउँपालिका र वडा स्तरमा जनप्रतिनिधि, अगुवाहरुलाई अभियानको बारेमा जानकारी गराउने, विद्यालय शिक्षा र अन्य माध्यमबाट प्रचारप्रसार गरि जति सक्दो धेरैलाई औषधि खुवाउन स्वाथ्यकर्मीहरु परिचालन गरिने उहाँले बताउनुभयो ।

विगतका वर्षमा स्वमसेवक परिचालन गरेर औषधी खुवाउने गरिएको थियो । पर्वत जिल्लामा सर्वेक्षणका क्रममा १.८१ प्रतिशतमा हात्तिपाइलेको जिवाणु भेटिएको थियो । शरिरलाई अपाङ्ग र कुरुप बनाउने हात्तिपाइलेबाट बच्नका लागि औषधि सेवननै एकमात्र विकल्प हो ।

क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट लामखुट्टे एक व्यक्तिबाट अर्कोमा सर्छ । अभियानका क्रममा गर्भवति, गम्भिर बिरामी र दुई वर्ष मुनीका बालबालिका बाहेकालाई अबलेण्डाजोल र डिइसी चक्की औषधी खुवाइने जनाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य सहसंयोजक राजु बोहोराले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले हात्तिपाइले रोग न्युनीकरणका लागि सबैले औषधी सेवन गर्ने वातावरण बनाउनुपर्ने र औषधीका बारेमा रहेको नकारात्मक धारणा हटाउनुपर्नेमा जोड दिनुभयो ।