मराङमा एकिकृत घुम्ती शिविर सम्पन्न

  • ५ फाल्गुन २०७५, आईतवार
  • सन्ताेष गाैतम
  • 2034 पटक पढिएको

मराङ ५ फागुन । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्रि स्थित वडा कार्यालय परिसरमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र धवलागिरी गाउँपालिकाले वडा कार्यालयसँगको समन्वयमा शिविरको आयोजना गरेका हुन् । शिविरमा जिल्ला प्रशासन कार्यालयको टोलीले ७० वटा नयाँ र १३ वटा प्रतिलिपि नागरिकताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

बेनी अस्पतालका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले ७७ जनाको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधि वितरणको सेवा दिएका छन् । जिल्ला निर्वाचन कार्यालयको टोलीले ५७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गराएका छन् ।सोही शिविरको अवसरमा गाउँपालिकाले अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । ५१ जना जेष्ठ नागरिक र चार जनालाई अपाङ्गता परिचयपत्र उपलब्ध गराइएको छ ।

मराङकी ७६ वर्षीया नरिमा पुनलाई गाउँपालिकाका अध्यक्ष थमसरा पुन, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढा, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत शर्मा र वडा अध्यक्ष राजाराम शर्माले जेष्ठ नागरिक परिचयपत्र उपलब्ध गराएका थिए ।शिविरमा मराङ र मल्कवाङका बासिन्दाहरुले सेवा लिएका थिए । गाउँपालिकाले सञ्चालन गरेको योजना सम्झौता, अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण सम्बन्धी शिविर भने आइतबार सम्म जारी रहनेछ् ।मराङ र मल्कवाङमा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाको वडामै सम्झौता गर्न घुम्ति शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई लक्षित गरेर एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताए ।यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको शिखमा पनि शिविर सञ्चालन गरिने प्रजिअ अधिकारीले बताए ।

सन्ताेष गाैतम