बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन मजदुर र उपकरण थप गरिने

  • २९ माघ २०७५, मंगलवार
  • 2323 पटक पढिएको

सन्तोष गौतम
भुरूङ तातोपानी २९ माघ । राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कामलाई तिब्रता दिन मजदुर र उपकरण थप गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा मंगलबार अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा बसेको आयोजना, सुरक्षा निकाय, स्थानीय तह र निर्माण व्यवसायीको समन्वय बैठकले सडक विस्तारको कामलाई तिब्रता दिन मजदुर र उपकरण थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।


चालू आर्थिक वर्षको अन्त सम्ममा सडक विस्तारका लागि पर्खाल लगाउने र ब्याक कटिङ लगायत फरमेशन सम्मका काम सम्पन्न गर्ने लक्ष्य हासिल गर्नका लागि आवश्यक पर्ने मेसिन, औजार र मजदुर संख्या बढाउने निर्णय भएको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । सडक विस्तारका लागि यातायातका साधन बन्द गर्ने यसअघिको निर्णय हाललाई यथावत राख्ने र सोको पुनरावलोकनका लागि ठोस आधार तय गरि जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र पेश गर्ने निर्णय भएको छ । हल बिहान ७ देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ साढे ६ बजेसम्म सवारी रोकेर आयोजनाको काम गरिदै आएको छ ।

यसैगरी सडकमा पर्ने घर टहराहरुको समस्याका विषयमा एकिन विवरण संकलन गरि म्याग्दी र मुस्ताङ स्थित जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने निर्णय भएको छ । बेनी देखि राहुपाखे खण्डमा सडक विस्तारका लागि बेनी खानेपानी उपभोक्ता संग समन्वय गरिने भएको छ । सडकको जटिल स्थान पहिचान गरि तत्काल उपलब्धिमुलक कार्य प्रगति हाँसिल गर्न बिशेष पहल गर्ने निर्णय पनि भएको छ ।

बैठकमा आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडक मध्य शर्मा–युनाइटेड जेभिले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल सम्म ४० प्रतिशत भन्दा बढी, शर्मा–गजुरमुखीले ठेक्का लिएको नारच्याङ–कोवाङ खण्डको ५२ प्रतिशत र न्यौपाने–कोशी–पप्पु जेभीले ठेक्का लिएको कोवाङ–जोमसोम खण्डको चार किलोमिटर ग्राभेल भइसकेको जानकारी दिनुभयो ।

युनाइटेड निर्माण कम्पनीका सञ्चालक शकुन्तलाल हिराचन, आयोजना व्यवस्थापक बलराम अर्याल, गजुरमुखीका विप्लप कोइराला र सचिन क्षेत्रीले बस्ती क्षेत्र, कमजोर र प्रतिकुल भुगोल, सवारी साधनको चापका बावजुद लक्ष्य अनुसारनै काम गर्ने प्रयास गरिएको बताउँदै सवारी व्यवस्थापनलाई सहज बनाएर काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुन, दोवाका वडा अध्यक्ष दिलीपकुमार गर्बुजा र भुरुङ्ग तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर काम गर्न आग्रह गर्दै तातोपानी कुण्ड बचाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।


बैठकमा कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाका लक्ष्मण फुयाल, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, अन्नपूर्ण गाउँपालिकाका वडा सदस्य वुद्धी पुन लगायतको पनि उपस्थिती रहेको थियो । प्रशारण लाइन आयोजनाका फुयालले दाना सब स्टेशनको ट्रान्सफर्मर ढुवानीका लागि गलेश्वर, महभिर र पोखरेबगरको बेलिब्रिजको क्षमता वृद्धी कार्यलाई छिटो गरिदिन आग्रह गर्नुभयो । सडक आयोजनाका इञ्जिनियर जगत प्रजापतिले सहायक सडकका कारण मूल सडकलाई असर पुगेकोतर्फ ध्यानाकर्षण गराउनुभयो भने बेगखोलामा मोटरेबल पुल बनाउन डिजाइन अध्ययनको काम भइरहेको जानकारी दिनुभयो । बेनी–जोमसोम सडक २०७७ मंसिर सम्म दुई लेन कालोपत्रे गरिसक्ने लक्ष्य रहेको छ ।