हिमपातले जनजिवन कष्टकर

  • २६ माघ २०७५, शनिबार
  • सन्तोष गौतम
  • 3085 पटक पढिएको

सन्तोष गौतम

बेनी, २६ माघ । तीन दिनदेखिको लगातारको हिमपात र बर्षातका कारण म्याग्दी र मुस्ताङ जिल्लाको जनजिवन कष्टकर बनेको छ ।

हिमपातका कारण सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । उच्च पहाडी क्षेत्रमा लगाएको गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबालीको क्षति पु¥याएपछि कृषकहरु चिन्तित भएका छन ।

मुस्ताङमा शनिबार समेत पाँचौ पटक हिमपात भएको छ । म्याग्दीमा २०६३ फागुन २ पछि १२ वर्षयताकै ठूलो हिमपात भएको स्थानीयबासीले बताएका छन् ।

चिसोले वृद्धबृद्धा र बालबालिकालाई समस्या भएको छ । सडक, भवन, सिचाइ र जलविद्युत आयोजनाको काम हिमपात र चिसोका कारण प्रभावित बनेको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक हिमपातका कारण अवरुद्ध बनेको छ ।

थासाङ गाउँपालिकामा पर्ने घाँसा देखि माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम देखि बेनी, पोखरा, काठमाडौ लगायतका स्थानमा सवारी साधन छुटेका छैनन् ।

बेनीबाट जोमसोम तर्फ छुटेका सवारी साधनहरु पनि अन्नपूर्ण गाउँपालिका ३ गुइठेमा रोकीएका म्याग्दीका प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । मुस्ताङका सबै सडक अवरुद्ध भएका छन् । पग्लिन एक÷दुई दिन लाग्ने जनाइएको छ ।

प्रतिकुल मौसम र धावनमार्गमा हिउँ जमेकाले बिहीबारदेखि पोखरा–जोमसोम हवाई उडान अवरुद्ध बनेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुई फिट भन्दा बाक्लो हिउँ जमेको छ । लगातारको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको छ । पानी जमेकाले मुस्ताङमा रहेको चोकोपानी जलविद्युत आयोजना बन्द भएको छ ।

चिसोका कारण सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । भेडाच्याङग्रा, घोडा, गाई, चौरीगाई लगायत बस्तुभाउ चरनमा जान सकेका छैनन् । यसअघि गत १२ गते परेको हिउँ पग्लीएर नसकिदै पुनः पाँचौ पटक हिमपात भएको छ ।

हिउँ र तीन दिनदेखिको लगातारको झरीका कारण म्याग्दीको सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रमा चल्ने यातायात सेवा पनि प्रभावीत भएको छ । म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्तीहरुमा पनि २०६३ पछि १२ वर्ष यताकै ठूलो हिमपात भएको छ ।

समुद्री सतहदेखि एक हजार ३०० मिटरको उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकाको काभ्रे गाउँमा एक फिट बाक्लो हिउँ जमेको स्थानीय गंगा पुनले जानकारी दिनुभयो । हिउँले सुन्तला र केराका बोटमा क्षति पु¥याएको दानाका बेलबहादुर पुर्जाले बताउनुभयो ।

बाला लाग्दै गरेको जौ, गहुँ र कोसा लाग्न थालेको केराउ लगायतका हिउँदे बाली हिउँले पुरीएर क्षति पुगेको बेनपा ३ डोलेका डिलबहादुर थापाले बताउनुभयो । पैदलमार्गमा हिउँ थुप्रिएपछि धवलागिरी गाउँपालिका १मा पर्ने गुर्जा गाउँ तीन दिनदेखि यातायात सम्र्पक बिच्छेद भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

घोडेपानी, मोहरे, खोप्रा, टोड्के लगायत पर्यटकीय क्षेत्रको भ्रमणमा गएका पर्यटकहरु हिमपातका कारण समस्यामा परेका छन् । हिस्तान, राम्चे, शिख, घार, पाउद्धार, लेकफाँट, किमचौर, पूर्णगाउँ, पाखापानी, ठाडाखानी, बिम, मराङ, मल्कवाङ, कुइनेमंगले, मुदी, मुना, ताकम, देविस्थान, रुम, निस्कोट, नारच्याङ, दोवा, बेग, झिँ, लुलाङ लगायत उच्च पहाडी बस्ती हिउँले ढाकीएका छन् ।

बेनी–जोमसोम, पोखरेबगर–चित्रे, बेनी–दरवाङ लगायत सडक आयोजना हिउँ र चिसोले प्रभावित भएका छन् । चिसोका कारण मजदुरहरुले काम गर्न नसकेको पोखरेबगर–चित्रे सडक आयोजनाको निर्माण कम्पनी मोतिदान–जयमाता जेभीका प्रतिनिधि गौतमप्रसाद भुषालले बताउनुभयो ।

विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, सिचाइ र जलविद्युत आयोजनाको काममा पनि हिमपातले असर पु¥याएको छ । अन्नपूर्ण गाउँपालिका ८ नांगीमा रहेको हिमाञ्चल माविका प्रअ रमन पुनले डेढ फिट बाक्लो हिउँ जमेकाले विद्यालय भवन निर्माण कार्य प्रभावित भएको बताउनुभयो । हिमपातका कारण पठनपाठन समेत प्रभावित भएको जनकल्याण मावि गुर्जाका प्रअ रुपेश सुवेदीले बताउनुभयो ।

पाखापानीको अमर माविका प्रअ युकुमार गर्बुजाले हिमपातका कारण अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको बताउनुभयो ।

सन्तोष गौतम