म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण आजदेखि

  • ३ बैशाख २०७४, आईतवार
  • 4033 पटक पढिएको

म्याग्दी, ३ वैशाख । ८६ बर्षीय मीन बहादुर शेरचनले आजदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । दोश्रो पटक शिखर आरोहणको अभियानमा लागेका शेरचन म्याग्दी भुरुङ तातोपानीमा जन्मेका र हुर्केका हुन् ।

वि.स २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भए पनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लागेका हुन् ।
उनले विश्वशान्ति, मानव विकास र खोसिएको नेपालीको उपाधी फिर्ताका लागि आरोहण गर्न लागेको प्रतिक्रिया दिएका छन् । शिखर आरोहणका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भईसकेको र आज आरोहणका लागि आधारशिविर प्रस्थान गर्ने मीनबहादुर शेरचन सगरमाथा आरोहणका संयोजक जितबहादुर घर्तीमगरले बताएका छन् ।
‘सगरमाथा आरोहणका लागि शेरचन ज्यू आज बिहान काठमाण्डौबाट हेलिकप्टरमा नाम्चे प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको छ’, उनले भने । सगरमाथा चढ्न लागेका ८६ बर्षिय शेरचनले राष्ट्रपति बिद्या देबि भण्डारीको हातबाट नेपालको राष्ट्रिय झण्डा समेत लिइसकेको उनले बताए । ज्येष्ठ नागरिक मध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएका शेरचनले गत वर्ष सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गर्नुपरेको थियो ।