सडकमै चालकको प्रेसर र आँखा परिक्षण

  • १० माघ २०७५, बिहीबार
  • 1717 पटक पढिएको

बेनी १० माघ । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।

चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा दुर्घटना भएको हुँदा उनिहरुलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक मित्रलाल ढकालले बताउनुभयो ।बेनी–गलेश्वर सडकको जलेश्वरमा सञ्चालन गरिएको स्वास्थ्य परिक्षणका क्रममा ७५ जना चालकको आँखा र प्रेसरको परिक्षण गरिएको कार्यालयका बैकुण्ठ पौडेलले बताउनुभयो ।

सात जनामा रक्तचाप र दुई जनामा न्युन दृष्टिको समस्या भएको पाइएको थियो । समस्या देखिएकालाई औषधी सेवन गर्न र अन्यलाई नियमित ब्यायम गर्न, स्वास्थ्य परिक्षण गर्न चिकित्सकहरुले सुझाव दिएका थिए । खानपानमा पनि ध्यान दिन चालकहरुलाई स्वास्थ्यकर्मीको सुझाव छ ।