म्याग्दीमा मतदाता शिक्षाका लागि १०१ जना स्वमसेवक परिचालन

  • २ बैशाख २०७४, शनिबार
  • 3454 पटक पढिएको

म्याग्दी, २ बैशाख । म्याग्दीका मतदातालाई स्थानीय तह चुनावमा मतदान गर्ने तरीका सिकाउनका लागि १०१ जना स्वमसेवक परिचालन भएका छन् ।    जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बदर मतको दरलाई कम गर्न प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक परिचालन गरेको हो ।

दुई दिनका दरले पाँच समूहमा सबै स्वमसेवकहरुलाई तालीम प्रदान गरेर नियुक्त गरी प्रचार सामाग्री सहित गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।    चैत २४ गते देखि सुरु भएको निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक तालीम शनिबार सकीएको छ । सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालविकास सहयोगी कार्यकर्ताहरुलाई तालीम दिइएको हो ।

तालीम समापन कार्यक्रममा निर्वाचन अधिकारी पौडेलले वडा, बस्ती तहमा सरोकारवालाहरुलाई स्थानीय तह निर्वाचनको महत्व, निर्वाचन आचार संहिता र बदर नहुने गरी मतदान गर्ने तरीकाको बारेमा जानकारी गराउन निर्देशन दिनुभयो ।  कार्यालयका नायव सुब्बा बलबहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा तालीममा सहभागि भगवतीकी सामाजिक परिचालक माया शर्माले आयोगको मर्यादालाई पालना गरेर ऐतिहाँसीक जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वमसेवकहरु नमुना मतपत्र सहित सबै टोल बस्ती र मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम छ ।

तालीमको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति कृष्णलाल सापकोटा, जिल्ला समन्वय समितिका एलजिसीडिपी कार्यक्रम अधिकृत प्रकाश रेग्मी र प्रकाश माविका शिक्षीका सरला सुवेदीले सहजिकरण गर्नुभएको थियो । ५ गाउँपालीका, एक नगरपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा ७१ ह्जार ४६३ जना मतदाता छन् । २३७ जना जनप्रतिनिधी निर्वाचीत हुने जनाइएको छ । म्याग्दीमा ७२ वटा निर्वाचन स्थल कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तिब्र पारेका छन ।