अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत

  • २९ पुष २०७५, आईतवार
  • 3189 पटक पढिएको

बेनी २९ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई  बेनीमा सम्मान गरिएको छ। कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका कटुवाललाई  जिल्ला खेलकुद विकास समितिको आयोजनामा  बेनीमा सम्मान गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा र  वडा अध्यक्ष लगायतले कटुवाललाई सम्मानपत्र र फूलमालाले सम्मान गरेका थिए । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीका कटुवालले डिसेम्बर २२ मा भएको प्रतियोगितामा खुल्ला तौल समूहमा नेपालको तर्फबाट सहभागि भएर स्वर्णपदक जितेका थिए । सम्मान कार्यक्रममा जिसस प्रमुख केसी र प्रजिअ अधिकारीले खेलाडीलाई प्रोत्साहन र खेल पूर्वाधारमा प्राथमिकता दिनुपर्ने बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षता र प्रशिक्षक बिरेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दीबाट प्रतिनिधित्व गर्दै पहिलोपटक पश्चिमाञ्चलस्तरीय हेभि तौलमा सहभागि भएर स्वर्णपदक जितेका थिए । पश्चिमाञ्चलबाट राष्ट्रियस्तरमा सहभागि भएर ३ गोल्डमेडल, ४ ओटा कास्यपदक र ५ ओटा रजत पदक जितेका छन् । भने दुईबर्षदेखि केसीले  पिएन क्याम्पस पोखरमा कराते सिकाउदै  नयाँ खेलाडी उत्पादन गर्दै आएका छन्।