बेनी बजार संरक्षणको काम तत्काल सुरु गर्न सरोकारवालाहरुको माग

  • २८ पुष २०७५, शनिबार
  • कमल खत्री
  • 2909 पटक पढिएको

म्याग्दी, २८ पुस । कालिगण्डकी र म्याग्दी नदीको कटानबाट जोखिमको चपेटामा परेको म्याग्दी सदरमुकाम बेनी बजार संरक्षणको काम सुरु हुन ढिलाई भएको छ । गत भदौमा आएको बाढीको कारण बेनी बजार स्थित कालिगण्डकी नदीले बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीतर्फ कटान गरि बजारलाई उच्च जोखिममा पारेको छ । बेनी बजार संरक्षणको लागि संघिय सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत जलस्रोत तथा सिचाई विभाग मार्फत रुपाताल एकिकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरि रु ३ करोड ५० लाख बजेट विनियोजन भएको छ । त्यस्तै पर्वत बेनी संरक्षणको लागि रु १ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको बेनी बजारलाई संरक्षण गर्न कालिगण्डकी नदीमा निर्माण गर्न लागिएको तटबन्ध योजना कार्यान्वयनको बारेमा शनिवार बेनी नगरपालिकाले आयोजना गरेको छलफल एवम अन्र्तक्रिया कार्यक्रममा सरोकारवलाहरुले हिउँद यामको समय वितिसक्दा समेत बजार संरक्षणको पूर्वाधार निर्माण सुरु नभएको गुनासो गरेका थिए । सो छलफलमा सहभागी बेनी नगरपालिका र जलजला गाउँपालिकाका जनप्रतिनिधि. म्याग्दीका राजनितीक दल एवम सरोकारवालाहरुले कालिगण्डकी नदीको कटानबाट बजारलाई सुरक्षित राख्न दुबैतर्फ एकैपटक संरक्षणको काम सुरु गर्नुपर्ने सुझाब दिएका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापा, प्रदेश सभा सदस्य विनोद केसी, पूर्व सभासद रेशम बहादुर बानियाँले तत्काल बेनीमा सम्पर्क कार्यालय राखेर बजार संरक्षणको कामलाई अघि बढाउन रुपाताल एकिकृत विकास आयोजनाका प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँहरुले ठेक्का प्रकृया मार्फत काम गर्दा थप समय खेर जाने भएकाले बजेटलाई ब्रेकडाउन गरि उपभोक्ता समिति मार्फत तत्कालै काम सुरु गर्न सुझाब समेत दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रजिअ लिलाधर अधिकारी लगायत जनप्रतिनिधि र सरोकारवालाहरुले बैशाख अगाबै बजार संरक्षणको लागि तटबन्धको काम सम्पन्न गर्ने गरि काम गनुपर्नेमा जोड दिनुभएको थियो ।

सरोकारवालाहरुको सुझाब बमोजिम संरक्षणको कामलाई छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत अघि बढाउने तयारी गरिएको रुपाताल एकिकृत विकास आयोजनाका प्रमुख रामप्रसाद अर्यालले बताउनुभयो । परियोजना प्रमुख अर्याल र ईन्जिनियर कृष्ण बहादुर विकले नदी कटानबाट बजार जोगाउनको लागि सञ्चालन हुन लागेको आयोजनालाई प्रभाबकारी कार्यान्वनयको लागि स्थानीय सरकार र समुदायबाट रचनात्मक सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।
सरोकारवालाहरुको उक्त छलफल एवम अन्र्तक्रियात्मक बैठकले बर्षायाम सुरुहुनु पुर्व नै संरक्षणको काम सक्ने गरि छिटो छरितो प्रकृया अपनाउन आयोजनालाई सुझाब दिने निर्णय गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, बेनी बजार संरक्षण र कालिगण्डकी नदी तटबन्धको लागि स्थायी कार्यालय माग गर्ने निर्णय समेत भएको छ ।  आयोजनाले नदी कटान रोक्नको लागि कालिगण्डकीको किनारमा ग्याविन भर्ने जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l