रघुगंगाको विकट बस्तीमा घुम्ति टोली मार्फत वडामै सेवा

  • २७ पुष २०७५, शुक्रबार
  • 1459 पटक पढिएको

पाखापानी २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुबिधाका लागि घुम्ति टोली मार्फत गाउँपालिकाको सेवा वडा स्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झञ्जट सेवा, सुबिधा उपलब्ध गराउने उद्देश्यले पाखापानी स्थित ६ नम्बर वडा कार्यालयमा बिहीबार घुम्ति शिविर सञ्चालन गरेको छ । शिविरबाट गाउँपालिकाले जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरणका साथै योजना सम्झौता र बैङ्क खाता सञ्चालनको सेवा दिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।


पाखापानी र झिाँका बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको शिविरमा ७ वटा योजनाको सम्झौता, ७ वटाकै बैङ्क खाता सञ्चालन, ९४ जनालाई जेष्ठ नागरिक र ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
मौवाफाँट स्थित गाउँपालिका कार्यालय सम्म आएर सेवा लिन नसक्ने सेवाग्राहीहरुको सुबिधाका लागि घुम्ति शिविर सञ्चालन गरिएको प्रशासकीय अधिकृत थापाले बताउनुभयो । जनतालाई गाउँमै सिहदरबार आएको अनुभुती दिलाउन र राहतको महशुस गराउन गाउँपालिकाका साथै बैङ्कका कर्मचारीहरुलाई पनि वडामै लगेर सेवा दिएको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

सेवाग्राहीले कार्यालय खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न कर्मचारी र जनप्रनिधि सेवाग्राहीको खोजीमा गाउँमा जाने वातावरण बनाएको अध्यक्ष भण्डारीको भनाई छ । शिविर मार्फत झिँ देखि टोड्के जोड्ने सडक मर्मत उपभोक्ता समितिलाई दुई लाख २१ ह्जार ३७० रुपैयाँ चेक मार्फत शिविरमै भुक्तानी गरिएको थियो ।
घुम्ति शिविर मार्फत गाउँमै सेवा पाएपछि समय र खर्चको बचतका साथै दुख र झञ्जटबाट मुक्ति पाएको झिँकी रामकुमारी थजालीले बताउनुभयो । सोही अवसरमा अध्यक्ष भण्डारीले आफूले जनप्रतिनिधिको हैसियतमा पाएको सुबिधाको रकमबाट विपन्न समुदायका पाँच वटा परिवारको स्वास्थ्य बिमा समेत गराईदिनुभएको छ ।