धौलागिरिको सिवाङ्गमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

  • २६ पुष २०७५, बिहीबार
  • कमल खत्री
  • 2721 पटक पढिएको

म्याग्दी, २६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका – ७ सिवाङ्ग स्थित हेम माविमा विहिवारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको रौनक बढाएको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, दौड ,कबड्डी र एथलेटिक्स तर्फ छात्र÷छात्राको विभिन्न बिधाका खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम, द्धितृय र तितृय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, कप र मेडल सहित क्रमश : पैचालिस हजार, तिस हजार र विस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विद्यालय स्तरबाटै खेलकुद प्रतिभा र क्षमताको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा खेलाडीहरु टिक्न नसक्ने विद्यमान समस्यालाई समाधान गर्न स्थानीय, प्रदेश र संघिय सरकारले बालबालिकाको शिक्षा संगै खेलकुद क्षेत्रमा समेत लगानी बढाउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

संघिय संरचना अनुसार पहिलो पटक स्थानीय स्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यालय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरुको पहिचान गर्न सहयोग पुग्ने बताउँदै गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गाउँपालिकाले बालबालिकाको शिक्षा संगै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायब उपरिक्षक विरबहादुर बुढा मगर र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलकुदले विद्यार्थीहरुमा अनुशासित, प्रतिस्पर्धी र सामुहिक एकताको भावना बढाउने बताउँदै खेलकुदको विकासले बालबालिका र युवायुवतिलाई गलत बाटोमा लाग्नबाट जोगाउन सहयोग पुग्ने उल्लखे गर्नुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तमकुमार कर्माचार्य, नेपाली काँग्रेसका प्रतिनिधि तेजेन्द्र थापा, गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष छन्त्यालको स्वागत र गाउँपालिकाका शिक्षा संयोजक गिरिप्रसाद छन्त्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ हेम माविका श्याम छन्त्याल प्रथम, धनजनता माविका भुवन मल्ल द्धितिय र किसानी माविका शिखर थापा तितृय तथा छात्रातर्फ हेम माविकै रिता भण्डारी प्रथम, धनजनता माविकी सविना मल्ल द्धितिय र जनकल्याण मावि गुर्जाकी शुसिला विक तितृय हुन सफल भएका छन् ।

पालिका स्तरबाट छनौट हुने खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर दिइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसअघिका वर्षमा जिल्ला स्तरमा मात्र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास परिषद्ले एक लाख रुपैयाँ पठाएको छ भने धौलागिरि गाउँपालिकाले थप ६ लाख रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l