मल्कबाङका भक्तबहादुर साढे २ दशकदेखि भेडापालनमा

  • २४ पुष २०७५, मंगलवार
  • देवान छन्त्याल
  • 4434 पटक पढिएको

म्याग्दी, २४ पुस । उमेरले ६१ बर्षमा लागे धौलागिरि गाउँपालिका–५ मल्कबाङ स्थित भेडिखाल्टाका भक्तबहादुर फगामी । जिवनमा बुढ्यौलीले कोल्टे फेर्दै गएपनि उनको दैनिकि भने जंगलका गोठहरुमै वित्ने गरेको छ । विगत २६ बर्षदेखि व्यवसायिक भेडापालन गरेका फगामीको भेडिगोठमा अहिले करिब ४ सय भेडाबाख्रा छन् ।

हिउँदको चिसोमा बेशीतिर र गर्मि याम लागेपछि लेकतिरका जंगलमा भेडाबाख्रा चराउन लैजाने फगामीको काम हो । बुबा मकन सिंह भारतीय सेनामा थिए । बुबाकै प्रेरणामा जेठो र माईलो छोरा पनि भारतीय सेनामै भर्ति भए । तर परिवारका कान्छो छोरा भक्तबहादुर भने प्रदेशको जागिर खानु भन्दा आफ्नै गाउँकै गोठमा रमाउने निधो गरे ।

परम्परागत रुपमा गाई भैसी पालेर जिविकोपार्जन गर्दै आएका फगामीले परिवारको आयआर्जनको लागि गाई भैँसी पालन छाडेर खच्चड व्यवसायमा हात हाले । तत्कालिन समयमा सामान ढुवानीको भरपर्दो माध्ययम बनेको खच्चड व्यवसाय मार्फत म्याग्दीका विभिन्न ठाउँमा सामान ढुवानी सेवामा लामो समय विताए । ‘‘ १८ बर्षसम्म खच्चड मार्फत सामान बोक्ने काम गरेँ, पछि विस्तारै गाडीको सुविधा नजीक नजीक आउन थाल्यो, यो व्यवसायबाट लामो भविश्य नदेखेपछि गाउँमा फर्किएर भेडाबाख्रा पालन थालेको थिए’’–फगामीले भने ।

सुरुमा रु २ लाख ५० हजार लगानीमा १५० बढी भेडाबाख्रा खरिद गरि भेडीगोठ सुरु गरेका फगामीले भेडापालनबाट हुने आम्दानीलाई व्यवसायमा थप गर्दै लगेका हुन् । भेडीगोठमा अहिले करिब ४५ लाख मुल्य बराबरको भेडाबाख्रा छन् । गोठमा सहयोगीको रुपमा तीन जनालाई नियमित रुपमा रोजगारि समेत दिएको फगामीले बताए । जिल्लामै ठुलो मात्रामा भेडाबाख्रा पालन गरेका फगामीले बार्षिक रुपमा १ सय बढी भेडाबाख्रा विक्रि गर्छन् ।

‘‘बर्षमा १५ लाख बराबरको भेडाबाख्रा विक्रि गर्छु, कामदारलाई ज्याला र अन्य खर्च गरि ३ लाख खर्च हुन्छ, अरु आम्दानीबाट घरखर्च चलाउछु’’–उनले भने । भेडाबाख्रा विक्रि गरेर आएको आम्दानीबाटै बालबच्चाको हुर्काइ, पढाई र घरखर्च जुटाउन सहज भएको उनी बताउँछन् । भेडाबाख्रा जति उत्पादन भएपनि सबै गोठबाटै विक्रि हुने गरेको कृषक फगामीले बताए । जंगलको बिचमा अधिकाँश समय गोठ राख्नुपर्ने भएकाले जंगली जनवारको आक्रमण रोक्न उनले तीन वटा भोटे कुकुर समेत पालेका छन् ।


गोठालो जिवनमै साढे २ दशक विताएका फगामीले गोठमा बस्दा हुने दुख कष्ट भेडाबाख्राको हेरचाह, पालनपोषण र जंगलको एकान्त वातावरणले मेटाईदिने गरेको अनुभव सुनाए । ‘‘ रघुगंगा र म्याग्दी खोलाको किनारदेखि धौलागिरि हिमालको फेदीसम्म गोठ राखेको छु, दुखकष्ट त धेरै भए होलान, तर आफ्नो लगाब भएर पनि होला मलाई गोठको जिवन त्यति कठीन भएन’’–उनले भने ।

जिवनको महत्वपूर्ण समय गोठमा बिताएका फगामीले चिसो बढेसंगै अहिले भेडीगोठलाई मल्कबाङको झार्मेफाँटमा झारेका छन् । चिसो छल्न बेशी झरेका फगामी फागुन लागेपछि कुईनेमंगलेको द्वाडी हुँदै भेडीगोठलाई लेकतर्फ सार्ने योजना रहेको सुनाए । उनले भेडाबाख्राको चरनको लागि पारखोला, धुरी, दमार, मेलाखर्क, छिस, विरौटो, स्यानु नयाँ बन, छरा, सोता, भेडाथुत्ने हुँदै रुवाचौर, चौराबन, रिखार, रिरु, बाँजोबुकी, वल्लो बेसक्याम्प हुँदै धौलागिरि हिमालको आधार शिविर सम्मै भेडाबाख्रा चराउन लैजाने गर्छन् ।

शारिरीक रुपमा बलियो र अग्लाई समेत भएका फगामीले गाउँमा हुने मेलापर्वमा छेलो फाल्ने प्रतियोगितामा समेत आफुलाई बिजयी गराउने गरेको विगत सम्झदै भन्छन‘ म अरुको अण्डरमा बसेर काम गर्ने स्वभावकको थिईन, त्यसैले जंगल र गोठमै रमाएर जिवन विताएँ’ ।

देवान छन्त्याल

म्याग्दी अनलाईन डट् कमका संयोजक हुन् l