ओखरबोटमा माओवादी केन्द्रको आमसभा, विभिन्न पार्टीबाट १५० जना पार्टी प्रवेश

  • ३० चैत्र २०७३, बुधबार
  • 2836 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटको खवाङ सिस्नेरीमा बुधबार नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको मालीका गाउँकमिटीका अध्यक्ष कमल केसीको सभापतित्वमा सम्पन्न सभामा पोलीट ब्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत स्थापित भएको र सिंहदरबारको अधिकार गाउँमा आएको बताउनुभयो ।

माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले म्याग्दीका पूर्वाधार योजनाहरुका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउँदै पौडेलले संबिधानको कार्यान्वयन, तिब्र आर्थिक, पुर्वाधार विकास र समतामुलक समाज निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा दिलीप शेरचन, ज्ञानबहादुर घर्ती लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका डेढ सय जनालाई स्वागत र पार्टी सदस्यता वितरण गरिएको थियो । ओखरबोटमा दिलीप शेरचनको नेतृत्वमा १०५ सदस्यीय वडा स्तरीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक शेरचन, लालमन रसाईली, मानबहादुर बुढाथोकी, वाईसीएलका कृष्ण फगामी र रेशम पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो । बालकुमार सेञ्चुरीको स्वागत र दलबहादुर खड्काथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।