म्याग्दीका राजनितिक दलहरु उमेद्वार छनौटको तयारीमा

  • २९ चैत्र २०७३, मंगलवार
  • 1755 पटक पढिएको

म्याग्दी, २९ चैत । म्याग्दीका राजनितिक दलहरुले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उमेद्वार छनौटको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आउन करिब एक महिना बाँकी रहँदा दलभित्र उम्मेदवारका आकाङ्क्षीहरूको दौडढुप बढेको छ । वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलहरूले जनाएका छन् ।

बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख, ५ वटा गाउँपालीकाको अध्यक्ष उपाध्यक्ष, ४५ वटा वडामा अध्यक्ष र सदस्यको उमेद्वार बन्न  आकाङ्क्षीको होडबाजी चलेको छ । पहिलो चरणको चुनाव केन्द्रित गाउँ अभियान सकेको नेपाली काँग्रेस म्याग्दीले वडा, गाउँ र नगरपालीकाका उमेद्वारहरु सिफारीस गर्नका लागि स्थानीय निकायको संरचना अनुसार जिम्मेवारी तोकेर प्रतिनिधि परिचालन गरेको छ ।

गाउँ तथा नगरपालीकाबाट सिफारीस भएका उमेद्वारको नामावली जिल्ला समितिमा छलफल गरी अनुमोदनका लागि बैशाख ३ गतेभित्र केन्द्रमा पठाईने र ७ गतेभित्र टुङ्गो लाग्ने जिल्ला सचिव हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा एमाले म्याग्दीको मंगलबार बेनीमा बसेको सचिवालय बैठकले अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा सांसद, पदाधीकारी, सदस्य, जनवर्गीय संगठनका प्रमुख, केन्द्रिय, प्रदेशका सदस्यको प्रतिनिधित्व रहनेगरी एक हजार १ सदस्यीय स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

बुधबारसम्म वडाका र ४ गतेसम्म गाउँनगरपालीकाका उमेद्वारको नामावली सिफारीस जिल्लामा भएर आउने, त्यसलाई जिल्ला कमिटिमा छलफल गरेर अनुमोदनका लागि प्रदेश कमीटिमा पठाएपछि ७ गतेभित्र टुङ्गो लाग्ने नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले बताउनुभयो ।

मंगलबारनै बेनीमा अनेमसंघका स्थायी कमिटि सदस्य तथा सांसद नरदेवी पुनको प्रमुख आतिथ्यतामा एमालेले महिला कार्यकर्ता भेला सम्पन्न भएको छ । मनकुमारी बानियाको अध्यक्षता र पशुपती शाहीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सांसद पुनका साथै दुर्गा कार्की र मुना बानियाले प्रशिक्षण दिनुभएको थियो ।

संगठन सुदृढीकरण र निर्वाचन केन्द्रित अभियान एकैसाथ सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले केन्द्र बिवाद रहेको रघुगंगा गाउँपालीका बाहेकका गाउँ तथा नगरपालीका र वडाहरुमा उमेद्वार छनौटको काम अन्तिम चरणमा पुगेको जनाएको छ । उमेद्वार छनौट गरेपछि जिल्ला कमिटिको बैठक बस्ने र चुनाव प्रचारप्रसार अभियान सुरु गर्ने नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

राप्रपा म्याग्दीले पनी उमेद्वार छनौटको काम तिब्र बनाएको छ । बैशाख १ गतेसम्म वडा, गाउँ र नगरपालीकाबाट उमेद्वार सिफारीस हुने र जिल्ला कमिटिले अनुमोनदका लागि केन्द्रिय समितिमा पठाएर टुङ्गो लगाउने राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति लगायतका दलहरु पनी उमेद्वार छनौटको तयारीमा जुटेका छन् । एक नगरपालीका र ५ गाउँपालीका रहेको म्याग्दीमा २३७ जना जनप्रतिनिधी निर्वाचीत हुने जनाइएको छ ।