साठी हजार पर्यटक मुस्ताङमा

  • २० पुष २०७५, शुक्रबार
  • 2089 पटक पढिएको


बेनी, २० पुष । २०१८ मा करिब ६० हजार विदेशी पर्यटकले हिमालीपारीको जिल्ला मुस्ताङमा भ्रमण गरेका छन्। सन् २०१७ को तुलनामा २०१८ मा विदेशी पर्यटक आगमन १२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोम स्थित इलाका संरक्षण कार्यालयले जनाएको छ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन्। भारतीयपछि जर्मन र फ्रान्सका पर्यटक छन्। २०१८ मा ५९ हजार आठ सय ३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए।
जसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकको संख्या ३३ हजार एक सय ५९ छ। जर्मनीका तीन हजार दुई सय १० र फ्रान्सका तीन हजार ८९ छन्। सन् २०१७ मा ५२ हजार चार सय ७५ विदेशी भ्रमणका आएकामध्ये २४ हजार आठ सय आठ भारतीय, तीन हजार एक सय २३ फ्रान्सेली र दुई हजार ६ सय ३९ जर्मनी थिए।
प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसम लगायतले पर्यटक आगमन बढेको दाहालले बताए। गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मुक्तिनाथ भ्रमणले पनि मुक्तिनाथ र मुस्ताङको पर्यटन विकासमा सहयोग र्पुयाएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए।
माटोको सहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदर कुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन्।मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, मुस्ताङी दरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन्। पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। बिदा, चाडपर्व र विशेष अवसर पारेर मुस्ताङ भ्रमणमा जाने स्वदेशी पर्यटकको चाप पनि बढेको छ। तस्विरः मोडिफिकेसन जोमसोम ।