प्रेमका रङ्गहरु

  • २० पुष २०७५, शुक्रबार
  • 2469 पटक पढिएको

अमृत सिर्पाली /काठमाण्डौ, २० पुष ।


जहाँ मिर्मिरेलाई चिर्दै बिहानी बोकेर उषाको लाली
मुस्कुराउँछ कि भनेर
दिउसोको त्यो पारीलो घामसँग लुकामरी गर्दै
गोधूलि सांझमा सप्तरङ्गी इन्द्रेणीको रङगहरुसंगै
घरको कौसीमा बसेर
रातका आकाशका ताराहरुलाई हेर्दै
जुनकीरीको धिपधिप उज्यालोमा
कल्पनामा डुवेर
लेखिरहेछु म तिम्रै प्रेम कविता

जीवनमा इन्द्रधुन झै रङ्ग बनाउनलाई
ती अनगिन्ती खुसीहरू बोकेर
अनगिन्ती बैसालु रहरका बिछ्याउनाहरू बिछ्याएर
मधुर जिन्दगीको पर्खाईमा
कल्पनाको भव्य महल बनाउदै
तिम्रै प्रेमिले सम्झनामा सिरानीको
रुई बनाउने चाहना भरेर
यो रातमा स्वतन्त्रताको उपभोग गरेर

आज लेखिरहेछु म तिम्रै प्रेम कविता
जिन्दगीका यी थकित नदीहरुमा
यो अन्धकार रातमा कुनै अज्ञात बस्तीमा
कोकाकुल तारमा रेटिएको
क्षयग्रस्त सारङ्गीको बेसुर ताल बजिरहेको बेला
रातभर जंगली जनावरले लखेटेका सपनाहरू देख्नुभन्दा
तिम्रै प्रेमको भव्य महासागरमा डुबेर
तिम्रो मायालाई अमूल्य
सेफबक्समा हिरामोती जस्तै राखेर
आज लेखिरहेछु म तिम्रै प्रेम कविता

यो रातमा,आकाशका जुनतारा
धर्तीमा चियाउने देविदेवता
कृतिम गुलाबी फूलहरुमा पनि
देखिनेछ, तिम्रै प्रेम कविता ।