स्वर्गीय पिताको स्मृतिमा छन्त्यालले गरे बेनी अस्पतालमा आइसियु बेड हस्तान्तरण

  • २८ चैत्र २०७३, सोमबार
  • 3268 पटक पढिएको

म्याग्दी, २८ चैत । बेनी अस्पताल म्याग्दीमा एक समाजसेवीद्धारा आफ्नो स्वर्गीय पिताको स्मृतिमा अत्याधुनिक आईसीयू बेड प्रदान गरेको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा निवासी हाल काठमाडौँ बस्दै आएका दिपबहादुर छन्त्यालले आफ्ना स्वर्गीय पिता हितमान छन्त्यालको स्मृतिमा पचास हजार रुपैयाँ बराबरको एक थान आइसियु बेड, सोही बेडमा रहने विरामीको सहजताका लागि एक थान अएर प्रेसर र वैशाखी हस्तान्तरण गरेका हुन् ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खमबीर गर्बुजाको प्रमुख आतिथ्यतामा छन्त्यालले उक्त सामाग्री अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मी, अस्पतालका डाक्टर धिरेन्द्र मल्ल लगायतले हस्तान्तरण गरेका हुन् । ८३ बर्षको उमेरमा काठमाडौँमा एकबर्ष अघि निधन भएका स्वर्गीय हितमानका कान्छा सुपुत्र दिप छन्त्याल काठमाडौँमा वसोवाश गर्ने म्याग्देलीहरुको पहलमा स्थापना गरिएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति सचिब र प्रबन्ध निर्देशक समेत हुन् ।

चार सुपुत्र र एक सुपुत्री मध्ये साइला छोरा अमर बहादुर छन्त्याल अमेरिकामा होटल व्यवसायमा आबद्ध छन् । उनी म्याग्दी समाज अमेरिकाका अध्यक्ष समेत हुन् । अत्याधुनिक वेड सहयोगले आकस्मिक कक्षबाट विरामीलाई सेवा सुविधा उपलब्ध गराउन सहज हुने अस्पताल डा. धिरेन्द्र मल्लले जानकारी दिए । उनले अस्पतालले यसअघि नै विरामीका लागि यस्तो वेडको परिकल्पना गरेपनि अहिले आएर मात्र पूरा भएको बताए ।

कार्यक्रममा काँग्रेस सभापति गर्बुजाले पिताको स्मृतिमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु प्रशंसनिय काम भएको भन्दै सहयोग सामाग्रीको सहि सदुपयोग हुने बताए । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले अस्पतालको गुणस्तरीय सेवा प्रबाहमा आइसियु वेड सहयोगले थप सघाउ पुग्ने बताए ।