महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी

  • २७ मंसिर २०७५, बिहीबार
  • धिरन खत्री
  • 3774 पटक पढिएको


म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् ।


३१ बर्षिय भण्डारीले विगत आठ बर्षदेखि ५ रोपनी जग्गा भाडामा लिएर भैसी, बाख्रा, कुखुरा र बंगुर पाल्दै आएकी छिन् । स्वदेशमै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यवसायिक पशुपालनमा होमिएकी भण्डारीले ‘समिर पुशपन्छी पालन केन्द्र’ स्थापना गरेर अहिले आकर्षक कमाई गर्न सफल भएकी हुन् । उनको व्यवसायीक सफलता र रहरलाग्दो आम्दानीलाई तुलना गर्दा उनी जिल्लामै सफल महिला कृषकको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


विगत ८ बर्षदेखि व्यवसायिक पशुपालन थालेकी भण्डारीले अहिले बार्षिक रु १२ लाख आम्दानी हुने बताउँछीन् । ‘‘ पहिलेपनि कुखुरापालन गर्थे तर व्यवसायिक रुपमा गरेको २०६७ देखि मात्रै हो, त्यतिबेला मसंग लगानी गर्ने पुँजी थिएन, थोरैसख्ंयाबाट कुखुरापालन थालेँ, त्यसबाट हुने आम्दानीलाई लगानी गर्दै जाँदा व्यवसायलाई विस्तार गर्न सकेँ’’–उद्यमी भण्डारीले भनीन् । अहिले आफ्नो फर्ममा २० लाख बढी लगानी भैसकेको उनको भनाई छ । १६ सय कुखुरापालन गरेकी भण्डारीले उत्पादन गरेको कुखुरा स्थानीय स्तरकै बजारमा विक्रि हुने गरेको छ । गलेश्वर–पिप्ले हुँदै भगवती जोड्ने सडक छेउमै व्यवसाय गर्दै आएकी भण्डारीले यातयातको सहज पहुँच भएकाले उत्पादीत कुखुराको निर्यात र आबश्यक दाना लगायतका सामाग्री ढुवानीमा सहज बताईन् ।


कुखुरापालनको लागि उनले अहिले ५ वटा खोर बनाएकी छीन् । हरेक महिना १ हजारदेखि २ हजारसम्म नियमित कुखुरा पाल्दा रु १ लाख आम्दानी हुने उनको अनुभव छ । कुखुरासंगै बाख्रापालन समेत गर्दै आएकी उनको फर्ममा अहिले ९३ वटा बाख्रा छन् । बार्षिक २० वटासम्म खसी, बोका विक्रि हुने गर्छ । चरण क्षेत्रको लागि उनले स्थानीय वनमा घाँस खरिद गर्छिन् । उनले कुखुरा, बाख्रासंगै बंगुर समेत पालन गर्छिन् । अहिले उनको फर्ममा ३ वटा बंगुर छन् । त्यस्तै उनले व्यवसायिक रुपमै भैसीपालन समेत गरेकी छिन् । दुध र दुधालु भैसी विक्रिबाट समेत उनले आकर्षक आम्दानी हुने बताउँछीन् ।


‘‘एउटै व्यवसायबाट लगानी उठाउन कठिन हुने भएपछि व्यवसायको क्षेत्र फराकिलो बनाएको हुँ, सबैबाट बार्षिक रु ५० लाख बराबरको कारोबार हुन्छ, खर्चको स्केल पनि ठुलो छ, आम्दानी भन्दा पनि व्यवसायबाट पाएको उपलब्धीबाट सन्तुष्ट छु’’–उनले भनिन् । २ छोराको पढाई र घरखर्च चलाएर बार्षिक ८ लाख बढी आम्दानी हुने महिला उद्यमी भण्डारीले जानकारी दिईन् ।


स्वदेशमै पशुपालनमा करिब एक दशक मेहनत गरेकी भण्डारीले यसै व्यवसायबाट भएको आम्दानीलाई सदुपयोग गर्दै व्यवसाय विस्तार संगै पोखरा र चितवनमा खेत र घडेरी समेत जोड्न सफल भएकी छिन् । युवा महिला उद्यमी भण्डारीले व्यवसायबाट बचत भएको समयलाई सामाजिक कार्यमा खर्चिने गर्छिन् । उनी सामुदायिक संस्थाको सचिव, जिल्ला बाख्रापालन ब्यवसायिक समितिको सह–सचिव हुन् ।


आफ्नो व्यवसायिक सफलतामा बुवा रेशमबहादुर र आमा हरिकुमारीको साथले अगाडी बढ्न थप आत्मबल बढेको भण्डारीले बताईन् । ‘‘ व्यवसायमा आउने जोखिमबारे पुर्वसर्तकता अपनाएको छु, कुखुरा, बाख्रा, बंगुर भैसी सबैको पशुविमा गरेकी छु, यो व्यवसायलाई थप व्यवस्थित बनाउने मेरो योजना छ’’– उनले भनीन् । उनको फर्ममा उनीमात्रै होईन परिवारका सबै सदस्य स्वरोजगार समेत बनेका छन् ।


युवा महिला उद्यमी भण्डारीले गरेको पशुपालन नमुना रहेको रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष जिवन मल्लले बताए । ‘‘ उनले गरेको व्यवसाय अन्य युवाहरुको लागि पनि प्रेरणादायी छ, हामीले प्रोत्साहनमुलक कार्यक्रम ल्याउने तयारी गरेका छौँ, उनी जस्ता सफल कृषक र उद्यमीहरुको पाठले स्वदेशमै युवाहरुलाई परीश्रम गर्ने सन्देश मिलेको छ’’– वडा अध्यक्ष मल्लले भने ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l