मल्लाजमा महिला सहकारीद्धारा विना धितो एक करोड लगानी

  • २२ मंसिर २०७५, शनिबार
  • 1980 पटक पढिएको

 

मल्लाज २२ मङसिर । जलजला गाउँपालिकाको मल्लाजमा महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाले बिना धितो एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । वि.स २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा अण सहकारी संस्थाले आर्थिक रुपमा विपन्न महिलाहरुको आयआर्जनतर्फ अग्रसर बनाउन सामुहिक जमानीको आधारमा लगानी गरेको हो ।  सहकारीको शनिबार भएको छैठौ साधारणसभा तथा तेस्रो अधिवेशनमा कोषाध्यक्ष ज्योती मल्लले सेयर सदस्यहरुलाई विभिन्न उद्यम व्यवसायका लागि गत आर्थिक वर्षमा एक करोड छ लाख २४ हजार ८६५ रुपैयाँ लगानी गरिएको जानकारी दिनुभयो ।

सहकारी अन्तरगत जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा रहेका ३३ वटा समूह मार्फत ७०१ ज्ना सेयर सदस्य आवद्ध भएका छन् । तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैसी पालन, पसल, ब्यापार लगायतका कामका लागि एक पटकमा पचास हजार रुपैयाँ सम्म लगानी गरिएको प्रबन्धक कमला जिसीले बताउनुभयो ।

३१ जना महिलाहरुले मासिक बीस रुपैयाँका दरले बचत गरेर सहकारी सूरु गरेका थिए । अहिले मासिक दुई सय रुपैयाँका दरले बचत गर्दै आएका छन् । सहकारीमा आवद्ध भएपछि दुई चार सय रुपैयाँ आवश्यक पर्दा श्रीमान तथा घरपरिवारका सदस्यको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको महिलाहरुले बताएका छन् । बचत गर्ने बानीको विकास र फजुल खर्च नियन्त्रण भएको छ ।
६३ लाख रुपैयाँ सेयर पुजीँ रहेको सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९२ हजार १३७ रुपैयाँ खुद मुनाफा गरेको अध्यक्ष शान्ता लामिछानेले बताउनुभयो । उहाँका अनुसार साधारणसभाले १८ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । साधारणसभामा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले महिलाहरुको शक्तिकरण र आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी मार्फत महिलाहरुको आयआर्जन वृद्धीका कार्यक्रम सञ्चालन गर्न सकिने र भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मल्लाज बहुउद्देश्यिय सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले सहकारीले सामाजिक रुपान्तरणको अभियानको पनि नेतृत्व लिनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी जिसी, सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष रिता बिक, साना किसान सहकारीका अध्यक्ष हेमकुमारी अधिकारी, प्रबन्धक सनिता कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष शान्ता लामिछानेको अध्यक्षता, सहसचिव सिता सुवेदीको सञ्चालन र उपाध्यक्ष मिना खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी मल्लले आर्थिक र शिक्षा उपसमिति संयोजक निर्मला कुवँरले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट समूह र सहयोगी संघ संस्था तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।