ओखरबोटमा उपभोक्तालाई अनुशिक्षण

  • १९ मंसिर २०७५, बुधबार
  • 1638 पटक पढिएको

बेनी १९ मङसिर । मालिका गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधीकारीहरुलाई अनुशिक्षण सुरु गरेको छ । ४ नम्बर वडा ओखरबोटमा बुधबार गरिएको उपभोक्ता समितिका पदाधीकारी, जनप्रतिनिधि र सरोकारवालाहरुका लागि अनुशिक्षण कार्यक्रम ७ वटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकार, दायीत्व, योजना व्यवस्थापन, कार्यान्वयन, भुक्तानी, प्राबिधिक जाँचपास लगायतका विषयमा जानकारी गराउने उद्देश्यले अनुशिक्षण गर्न लागिएको हो । विगतका वर्षमा नितीगत व्यवस्था र प्रक्रियाको बारेमा जानकारीको कमीले उपभोक्ता समिति मार्फत योजना सञ्चालनका क्रममा देखिएका कमजोरी न्युनीकरणका लागि पहल थालिएको गाउँपालिकाले जनाएको छ ।

वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, लेखापाल बिष्णुप्रसाद पौडेल र वडा सचिव रमाकान्त घिमीरेले सहजिकरण गर्नभएको थियो ।