रघुगंगाको बिशेष गाउँसभाः अपाङ्गता परिचयपत्र सम्बन्धि कार्यबिधि पारित

  • १८ मंसिर २०७५, मंगलवार
  • 3055 पटक पढिएको

बेनी १८ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरणका लागि आवश्यक कार्यबिधि बनाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न बिशेष गाउँसभाले रघुगंगा गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यबिधि २०७५ पारित गरेको हो ।

संघीय सरकार अन्तरगतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अपाङ्गता परिचयपत्र वितरणका लागि कार्यबिधि बनाउन परिपत्र गरेको एक हप्तामै बिधेयक पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । बिधेयक पारित भएपछि यसअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयले गर्दै आएको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि काम गाउँपालिकाबाटै हुने भएको छ । रघुगंगा गाउँपालिका अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यबिधि बनाउने सम्भवत नेपालकै पहिलो स्थानीय तह भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभएको छ ।

वडा समिति र चिकित्सकको सिफारीस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको निवेदनको आधारमा प्रमुख प्रशासकिय अधिकृतले परिचयपत्र जारी गर्ने नीतिगत व्यवस्था गरिएको छ । गाउँ कार्यपालिकाको बैठकबाट पारित भएको बिधेयक गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले निर्णयार्थ बिशेषसभामा प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले बिधेयक स्विकृत गरेपछि कानुनको रुपमा सक्रिय भएको छ । स्थानीय तह कार्यान्वयन र महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपाङ्गता परिचयपत्र वितरण रोकीएको थियो । संबिधानले अपाङ्गता परिचयपत्र वितरणको अधिकार स्थानीय तहलाई दिएको छ ।

गाउँपालिकाबाटै परिचयपत्र पाउने सुबिधा भएपछि अपाङ्गता परिचयपत्रका लागि सदरमुकाम धाउनुपर्ने ग्रामिण क्षेत्रका लक्षित समुदायको बाध्यता हट्ने अध्यक्ष भण्डारीले बताउनुभयो । रघुगंगामा महिला तथा बालबालिका शाखा समेत स्थापना भइसकेको छ । यसैगरी बिशेष गाउँसभाले चालू आर्थिक वर्ष २०७५/७६ को योजना तथा कार्यक्रमहरुको सामान्य संसोधन गरि पारित गरेको छ । गाउँसभाले पारित गरेपछि स्विकृत योजना तथा कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ ।