म्याग्दीमा महिला हराउने र जर्बजस्ती करणीका घटना बढे

  • १८ मंसिर २०७५, मंगलवार
  • 2708 पटक पढिएको

बेनी १८ मङ्सिर । मङ्सिर ९ गतेदेखि म्याग्दी सहित देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । हरेक बर्ष लैङ्गिक हिंसालाई कम गर्न विभिन्न अभियानहरु सञ्चालन हुने भएपनि म्याग्दीमा भने घरेलु हिंसा संगै महिलाहरु हराउने र जर्बजस्ती करणीका घटनामा भने बृद्धि भएको पाईएको छ । औपचारिकताको लागि दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु हुने भएपनि ति कार्यक्रमहरुको उपलब्धी र प्रभाबकारीता भने न्युन हुँदा ग्रामीण भेगमा लैङ्गिक हिंसाका घटनाहरु दिनहुँ बढ्दो क्रममा देखिएको छ ।

?

शहरी क्षेत्रमा हिंसा विरुद्धका अभियानहरु संचालन हुने भएपनि ग्रामीण बस्तीसम्म यस्ता अभियानको प्रभाब पुग्न नसक्दा एकतर्फ हिंसाका घटना बढ्ने गरेका छन भने अर्कोतर्फ बढीरहेका हिंसाका घटना न्युनीकरणमा समेत प्रभाबकारी पहलहरु हुन सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, पछिल्लो समय म्याग्दीमा महिला र बालबालिकाहरु हराउने घटना बढेका छन् । चालु आर्थिक बर्ष २०७५÷७६ को साउनदेखि मंसिर १० सम्म १३ जना महिला, ६ जना बालिका र ३ जना बालक हराएको निवेदन दर्ता भएको छ ।

हराएका महिला तथा बालबालिकाहरुको खोजी र अनुसंधान गर्दा अहिलेसम्म ६ जना महिला, ३ बालिका र २ बालक फेला परेको जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी जवान मिना बुढाथोकीले जानकारी दिनुभयो । जिल्लामा यो बर्ष मात्रै होईन अघिल्ला बर्षहरुमा पनि महिला र बालबालिकाहरु हराउने घटना बढीरहेको छ । आर्थिक बर्ष २०७१/७२ मा महिला १९ जना, बालक ५ जना र बालिका ५ जना गरि २९ जना हराएका थिए । हराएका मध्ये बालबालिका र महिला सहित २२ जना फेला परेपनि ७ जना महिला भने सम्पर्कमा आउन सकेका छैनन् ।

आर्थिक बर्ष ०७२÷७३ मा हराएका २५ जना महिलामध्ये ५ जना, ०७३/७४ मा हराएका ३६ जना महिलामध्ये ८ जना र ०७४/७५ मा हराएका ४७ जना महिलामध्ये ३ जना महिला फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाबाट हराएका अधिकाँश महिलाहरु मध्ये प्रायजसो महिलाहरु दोस्रो विवाह गरि जाने गरेको पाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

पछिल्लो समय फेसबुक लगायतका सामाजिक सञ्जाल र मोवाईल फोनको गलत प्रयोगले यहाँ कतिपयको घरबार नै विग्रने गरेको पाईएको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो । खासगरि म्याग्दीमा अधिकाँश युवाहरु बैदेशिक रोजगारिमा विदेश पलायन हुने र स्वदेशमा बालबालिकाहरुको हेरचाहमा मात्रै समय बेतिथ गरेका महिलाहरु फेसबुक र मोवाईल फोनको गलत प्रयोगबाट अन्यत्रै सम्बन्धमा जोडिने घटना बढ्दा एकतर्फ महिला हराउने सख्ंया बढ्दो देखिएको छ भने अर्कोतर्फ यसले पारिवारिक सम्बन्धमा बिचलन र बिखण्डनको संख्या बढाएको छ ।

जिल्लामा घरेलु हिंसाका घटनाहरु पनि बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक बर्षमा १० घरेलु हिंसाका उजुरी परेको मध्ये ८ वटा मेलमिलाप मार्फत टुंगो लगाईएको प्रहरीले जनाएको छ । समाजमा हिंसा र जर्वजस्ती करणीका घटना बढेको देखिएपनि पछिल्ला समय मात्रै यस्ता घटनाहरु मिडिया मार्फत सार्वजनिक हुने गरेको बिश्लेषकहरु बताउँछन् ।

आर्थिक रुपमा आत्मनिर्भर बन्ने, शिक्षाको पहुँच बढाउने, मानिसमा नैतिक चेतनाको स्तर उकास्न सकेमा मात्रै यस्ता घटना न्यनिकरण गर्न सकिने म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आउनुभएकी महिला मानव अधिकार रक्षक सञ्जाल म्याग्दीकी अध्यक्ष रेखा कौसल रेग्मीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्यागदीमा आ.ब. २०७२/७३ मा ३० वटा, ०७३/७४ मा ३७ वटा र ०७४/७५ मा ४४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

दर्ता भएका घरेलु हिंसाका अधिकाँश उजुरी उपर अनुसंधान गरि मेलमिलाप मार्फत नै टुंगो लगाउने गरिएपनि ०७३/७४ मा ५ र ०७४/७५ मा ५ वटा घरेलु हिंसाका घटना भने मुद्धाकै रुपमा अदालतमा दर्ता भएका थिए । अशिक्षा, गरिबी र बेरोजगारको कारण घरेलु हिंसाका घटना घट्ने गरेको प्रहरी अनुसंधानले देखाउँछ ।

जर्वजस्ती करणीका घटनामा बृद्धि
म्याग्दीमा जर्बजस्ती करणीका घटना समेत बढ्दो देखिएको छ । चालु आर्थिक बर्षमै ४ वटा जर्बजस्ती करणी र ४ वटा जर्वजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका छन् । ०७४/७५ मा म्याग्दीमा १० वटा जर्वजस्ती करणी र ३ वटा जर्वजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको थियो भने ०७३/७४ मा ३/३ वटा जर्बजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा परेका थिए । पछिल्लो तिन बर्षको तथ्याङ्क हेर्दा जिल्लामा जर्बजस्ती करणीका घटनाले निकै डरलाग्दो रुप लिएको छ । यो बर्ष १ बालविबाह र २ वटा बहुविवाहको उजुरी समेत दर्ता भएको छ ।

यस्ता घटनाहरुलाई निरुत्साहित गर्न र नियन्त्रण गर्नको लागि जनचेतनामुलक कार्यक्रम आबश्यक पर्ने देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गुरुङले बताउनुभयो । हिँसाजन्य अपराध मानिसको व्यवहार र आचरण संग जोडिएको छ । जब मान्छेले समाजमा आफुलाई नैतिकवान बनाउन सक्दैन तब उसले समाज संगै घरपरिवारको पारिवारिक सम्बन्ध र हैसियतलाई समेत भुल्ने गर्छ जस्को कारण समाजमा लैँगीक हिंसा र जर्वजस्ती करणी जस्ता जगन्य अपराधहरु बढ्ने गर्दछ ।

तसर्थ समाजमा रहेका हरेक व्यक्तिलाई हिंसाजन्य अपराधबाट टाढा रहने र रहन लगाउनको लागि विभिन्न समयमा मनाईने अभियानलाई जनचेतनामुलक बनाउन र दुर्गम बस्ती स्तरसम्म पनि पहुँच पु¥याउन जरुरी छ ।