रायखोरमा स्वास्थ्य इकाई स्थापना

  • ९ मंसिर २०७५, आईतवार
  • सन्तोष गौतम
  • 4168 पटक पढिएको

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।

इकाइबाट रायखोर, मुलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसंख्या लाभान्वित भएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने इकाइबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सुबिधा दिइने शेरपुञ्जाले बताए ।

इकाई स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँ सहयोगमा स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका छन् । कर्मचारीको तलबका लागि चालू आर्थिक वर्षमा तीन लाख रुपैया बिनियोजन गरिएको वडा अध्यक्ष शेरपुञ्जाले बताए ।

इकाइको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलीजाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उनले दुर्गम र विकट बस्तीका बासिन्दाहरुमा सहज रुपमा स्वास्थ्य सेवाको पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताए ।

वडा सदस्य लिलबहादुर पुनको अध्यक्षता, बेलमाया पुनको स्वागत, दप्रसाद र देवेन्द्र शेरपुञ्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, गाउँपालिकाको स्वास्थ्य शाखाका उप संयोजक शिवप्रसाद पाण्डे, स्थानीय अगुवा प्रेम पुन, बिरबहादुर पुन, देबिलाल पुनले मन्तब्य व्यक्त गरेका थिए ।

सन्तोष गौतम