सबै क्षेत्रको सिण्डिकेट हटाउन सरकार लागीपरेको छः गृहमन्त्री थापा

  • २७ कार्तिक २०७५, मंगलवार
  • 1766 पटक पढिएको


बेनी, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले सरकारले यातयात क्षेत्रसंगै अन्य क्षेत्रमा रहेको सिण्डिकेट हटाउन लागीपरेको बताउनुभएको छ । म्याग्दी कोरला यातयात प्रा.लि.द्धारा बेनी–काठमाण्डौ सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको मंगलवार साँझ बेनीमा सुभारम्भ गर्दै गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो ।


उहाँले मुलुकको समृद्धि र आम नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातयात संगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सा लगायतको क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आबश्यक रहेको उल्लेख गर्नुभयो । ‘‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन, मुलुक र आम नागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’’– मन्त्री थापाले भन्नुभयो ।


जनताले नै मुलुकलाई समृद्ध बनाउने भएकाले आम नागरिक गरिबी र बेरोजगारबाट मुक्ति नभएसम्म मुलुकमा विकास र समृद्धि सम्भव नहुने उहाँको भनाई छ । यातयातको क्षेत्रमा बर्षौदेखिको सिण्डिकेटले यात्रुहरुलाई समेत बाधा पु¥याएको कारण सरकारले कानुनी रुपमै सिण्डिकेट हटाउने निर्णय लिएको मन्त्री थापाले बताउनुभयो ।


यातयात क्षेत्रमा कानुनी रुपमा सिण्डिकेट हटेपनि व्यवहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गर्दै उहाँले व्यवस्थापन र व्यवस्थित गर्ने काम भैरहेको बताउनुभयो । यातयात मन्त्रालयले यातयात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आबश्यक कार्यहरु गरिरहेको बताउँदै उहाँले यातयात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायीहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाईएको सिण्डिकेटलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातयात सम्बन्धि ऐन र व्यवस्थाहरुलाई नै परिवर्तन गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । प्रा.लि.का अध्यक्ष सुरत केसीले काठमाण्डौ र पोखरा लगायतका क्षेत्रमा अझै पनि सिण्डिकेट हट्न नसकेको भन्दै गृहमन्त्री थापाको ध्यानकर्षण गराउनुभएको थियो । म्याग्दीका युवा व्यवसायिहरुले लगानी गरेको यस प्रा.लिले बेनी–काठमाण्डौ रुटमा स्तरीय यातयात सेवा सुचारु गरेको छ ।प्रा.लिका अध्यक्ष केसीको अध्यक्षता र प्रकाश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।