मिर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग

  • १८ कार्तिक २०७५, आईतवार
  • 1859 पटक पढिएको

म्याग्दी, १८ कात्तिक पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मिर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई उपलब्ध गराइएको छ । सहयोग सङ्कलनका लागि अर्मनका कृष्ण छन्त्यालले हिमालयन युवा समाज दोहा कतारका प्रतिनिधिहरुलाई आग्रह गरेका थिए । सहयोग सङ्कलन अभियानमा संस्थाका भूतपूर्व अध्यक्ष श्रीधर आचार्यसहित निरज मल्ल, राजकुमार गुरुङ, श्यामलाल सापकोटा, राजु गुरुङ, बासुदेव बानियाँ, नारायण केसी र विराज हमालले सहयोगी भूमिका खेलेका थिए ।

संस्थाका पूर्व सदस्य कृष्ण छन्त्यालको आग्रहमा संस्थामार्फत कतारमा आर्थिक सङ्कलन गरेर सहयोग रकम हस्तान्तरण गरिएको हिमालयन युवा समाजका भूपू अध्यक्ष आचार्यले जानकारी दिएका छन् । सन् २००७ सालमा स्थापना भएको संस्थाले यसअघि पनि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेर विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको जनाएको छ ।

दुवै मृर्गौलामा खराबी आएपछि उपचार गराइरहेका सुरेशलाई विदेशका विभिन्न देशमा रहेका प्रवासीहरुको पहलमा आर्थिक सङ्कलनको कार्य जारी राखिएको छ । मृर्गौलाले काम नगरेको जानकारी पाएलगत्तै स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचारमा सहज भएको छन्त्यालकी आमा सीताको भनाइ छ ।

आर्थिक अभावले उपचारमा समस्या भएपछि सुरेश बचाउ अभियानमा कोरियामा रहेका म्याग्देलीसहित विभिन्न जिल्लाबाट रोजगारको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुले सहयोग गरेका छन् । हाल काठमाण्डौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्त्यालको मृर्गौला प्रत्यारोपणको तयारी भैरहेको छ ।