गुर्जामा ८६ जनालाई नागरिकता वितरण, घरदैलोमै लालपुर्जा सहितको सरकारी सेवाले स्थानीय हर्षित

  • १७ कार्तिक २०७५, शनिबार
  • 2479 पटक पढिएको

म्याग्दी, १७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा घुम्ती शिविर मार्फत घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा), नागरिकता, अपांगता परिचयपत्र, स्वास्थ्य परिक्षण लगायतको सेवा पाएपछि सर्वसाधारण हर्षित भएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा शुक्रवार र शनिवार सञ्चालन भएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट गाउँ गुर्जाबासीमा खुसीयाली छाएको हो ।


दुई दिनसम्म सञ्चालन भएको शिविरबाट ८६ जनालाई नागरिकता, ९ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिईन् । उनका अनुसार, निःशुल्क स्वास्थ्य शिविरबाट १३१ जना लाभान्वित भएका छन भने ६६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन्। गुर्जाकै सबैभन्दा ठुलो समस्याको रुपमा रहेको लालपुर्जाको समस्या समेत हल भएको छ । जिल्ला नापी र मालपोत कार्यालयका प्रमुख सहितको टोलीले जग्गाधनी पुर्जा (लालपुर्जा) नभएका स्थानीयको जग्गा पहिचान गरेपछि उनीहरुलाई लालपुर्जा वितरण गरिएको हो ।

शिविरमा अन्य सेवाको काम सकिएपनी जग्गा सम्बन्धी सेवाग्राहीको काम नसकिएकाले जग्गाधनी पुर्जा, जग्गा नामसारी, राजीनामा लगायतको सेवा भने आईतवार सम्म जारी रहने गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । उनका अनुसार, शनिवार साँझ सम्म ३३ जनालाई जग्गाधनी पुर्जी , ३५ वटा नामसारी, ३८ वटा जग्गा राजीनामाको सेवा प्रवाह गरिएको छ । पुस्तौदेखिको जग्गाको लालपुर्जा नहुँदाको समस्या हल भएपछि सर्वसाधारणलाई ठुलो राहत मिलेको वडा अध्यक्ष छन्त्यालले बताए। कुल २६० घरधुरीको बसोबास रहेको गुर्जामा ५० देखि ६० घरधुरी बाहेक अन्यको आफ्नो घर, पुस्तौँ देखि उपभोग गर्दै आएको जग्गा, जमिनको लालपुर्जा नभएको अबस्थामा घुम्ती शिविरबाट अधिकाँशले लालपुर्जा पाएका छन् ।

भौगोलिक विकटता, जग्गाको अबमुल्यन हुनु र लालपुर्जा बनाउन सदरमुकाम जादाँ आउँदा नै ठुलो खर्च हुने भएकाले गुर्जाबासी अहिलेसम्म लालपुर्जा विहिन बनेका थिए । शिविरबाट लालपुर्जा लिएका ६५ बर्षका रेशविर विकले बर्षौदेखि लालपुर्जा नहुँदा झेलेको समस्या गाउँमै समधान हुँदा खुसी लागेको बताए । शिविरमा ७३ बर्षिय उदी छन्त्याललाई नागरिकता वितरण गरि सुभारम्भ गरिएको थियो । शिविरबाट ६१ बर्षिय खरिलाटी विकले पहिलो पटक नागरिकता र अपांगता परिचय पत्र पाएकी छिन् । बोल्न र हिँड्न नसक्ने उनलाई आफन्तले शिविर सम्म ल्याएर नागरिकता र परिचयपत्र लिएका हुन् ।

आईतवार धवलागिरि गाउँपालिकाकै वडा नम्बर २ लमसुङमा एकिकृत घुम्ती शिविरबाट सदरमुकाम बेनीमा उपलब्ध हुने सरकारी सेवा सुविधा प्रवाह गरिनेछ । भौगोलिक रुपमा दुर्गम गुर्जाबासीलाई जिल्ला सदरमुकाम बेनीमा उपलब्ध हुने सरकारी सेवा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी सहित, प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापा, जिसस प्रमुख दवेन्द्रबहादुर केसी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा सहित सुरक्षा निकायका अधिकारी सहितको टोली २ दिनको यात्रापछि गुर्जा पुगेका थिए ।