घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)

  • १६ कार्तिक २०७५, शुक्रबार
  • कमल खत्री
  • 399 पटक पढिएको

बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो बर्ष थप ७ रोपानीमा खेती विस्तार गरेका छन् ।

‘‘५० बोटले अहिले फल दिन्छ, ६ सय विरुवा नयाँ छन्, खेर गएको बाँझो जमिन, पाखो संगै खेतीयोग्य जमिनमा समेत टिम्मुर विस्तार गरेको छु’’– बानियाँले भने । टिम्मुरको फल संगै नर्सरी स्थापना गरि विरुवा समेत विक्रि गर्दै आएका बानियाँले बार्षिक रुपमा ७ लाख रुपैयाँ बढी गाउँमै बसेर आम्दानी हुने बताउँछन् । प्रशोधन गरि ए, बि र सि वर्गको टिम्मुरलाई क्रमश प्रतिकिलो दुई हजार चार सय, दुई हजार दुई सय र एक हजार ८०० रुपैयाका दरले बिक्री हुँदै आएको छ ।

यहाँका कृषकहरुले नगदे बालिको रुपमा टिमुर रोप्ने अभियान नै थालेका छन् । बोटमा फलेको टिमुर बजारीकरणको लागि फल टिप्दै गरेका अर्का कृषक चन्द्र नेपालीले ९ पाथी टिमुर विक्रि गरिसकेको जानकारी दिए । ‘‘ १३ वटा बोटमा फल दिन्छ, व्यापारीहरु घरमै आएर किनेर लगे, टिमुरलाई थप विस्तार गर्ने योजनामा छु, टिमुरबाट भएको आम्दानीले दशैँ खर्च चलाउन सजिलो भयो’’–उनले भने । टिमुर खेती गरिबी निवारणको गतिलो माध्ययम बन्न थालेको छ ।

खेतीयोग्य जमिनको आबश्यक नपर्ने र उपयोगमा ल्याउन नसकिने ढुंगै ढुंगाको ढाँडमा समेत टिमुरको बोट हुर्कने भएपछि कृषकहरुको आयआर्जनमा यसले ठुलो सहयोग गरेको छ । टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि बेनपा–९ को तोरीपानी, काफलबोट, डाबा, ढोलढान, ओखरबोट, स्यालीखेत, तुसारेपानी, गिठीनी, नेप्टेचौर, लगायतका ठाउँमा व्यवसायिक रुपमै टिमुर खेती गर्नेको लहर चलेको छ । साविकको घतान गाविसमा पर्ने माथिल्लो बस्ती अहिले टिमुर गाउँको रुपमा विकास हुन थालेको छ ।

तोरिपानीका भरत केसीले यसै बर्षदेखि धानखेती हुने गरेको जग्गामा ६ सय बोट टिम्मुर रोपेका छन् । इब गिरीले ४ सय, पुन्य चोखालले ५ सय नयाँ टिम्मुरका बोट लगाएका छन् । घतानका १५० बढी घरधुरीले व्यवसायिक रुपमा टिमुरको खेती गरेका छन् । ‘‘ हरेक घरमा १० देखि ७०० सम्म बोट लगाएका छन, व्यक्तिगतसंगै सामुदायिक बनमा समेत टिमुरलाई विस्तार गर्ने अभियान थलेको छ’’–निलपहरा सामुदायिक बनका अध्यक्ष समेत रहेका कृषक सागर बानियाँले भने । उनका अनुसार, लिपहरामा ७०० र तुसारेपानी महिला सामुदायिक बनमा ७०० नयाँ टिम्मुरका बोट रोपिएको छ ।

टिमुर स्वदेशदेखि विदेशसम्म निर्यात

घतानमा उत्पादन भएको टिमुरको माग बढेपछि कृषकहरु उत्साहित बनेका छन् । मसलेदार फल टिम्मुर स्थानीय बजारदेखि बिदेश सम्म निर्यात हुन थालेपछि कृषकहरुले टिमुर खेतीलाई व्यवसायिक बनाउन थालेका हुन् । उत्पादन भएको टिमुर खरिद गर्न स्थानीय बजारबाट व्यवासायिहरु घर–घरमै पुग्ने र विदेशबाट समेत माग आउने क्रम बढेपछि सामुदायिक बन र व्यक्तिगत जग्गामा टिमुर खेतीतर्फ आकर्षण बढेको निलपहरा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले बताए । ‘‘ यो बर्ष कोरियामा एक क्विन्टल टिमुर पठायौँ, फ्रान्समा २ क्विन्टल पठाउँदैछौँ, विदेशबाट मात्रै ८ क्विन्टलको माग आएको थियो, तर भनेजस्तो उत्पादन नभएपछि माग पु¥याउन सकेनौँ– बानियाँले भने ।

यो बर्ष असिनाले बोटमा फलेको मध्ये आधा बढी फल झारेको कारण उत्पादनमा भने गिरावट आउने भएको छ । स्थानीय व्यवसायिहरुले विदेशबाट भन्दा बढी मुल्य दिन थालेपछि कृषकहरुले स्वदेशमै बढी विक्रि गर्न थालेका छन् । ५ सय बोट टिमुर लगाएका कृषक आनन्द रिजालले केही बर्ष अघि बारको रुपमा चिनिएको टिम्मुर अहिले आम्दानीको आधार बनेको बताए । गत बर्ष १ मुरी टिमुर विक्रि गरेका रिजालले यो बर्षको फल टिप्ने तयारी गरेको बताउँछन् । यहाँ उत्पादन भएको टिमुर यस अघि अष्ट्रेलिया, अमेरिका, जापान, जर्मन लगायतका अन्र्तराष्ट्रिय बजारमा निर्यात हुँदै आएको छ । यस वर्ष घतानमा करिब ४५ क्विन्टल टिम्मुर उत्पादन भएको अनुमान गरिएको छ। अहिलेसम्म १५ क्विन्टल बढी निर्यात भैसकेको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर दाल, चटनी र अचारमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ ।

केही बर्ष अघि सम्म खेतबारीमा बारको रुपमा छेउछाउमा रोपीने टिमुरबाट आसालाग्दो आम्दानी हुन थालेपछि यस क्षेत्रमा टिमुर खेतीलाई गरिबी निवारण गर्ने खेतीको रुपमा प्रवन्द्र्धन गर्न पहल भैरहेको वडा अध्यक्ष बेलबहादुर चोखालले बताए । ‘‘ यहाँको टिम्मुर बढी बास्नादार भएको पाएका छौँ, टिमुर संगै किबी, ओखर अलैँची लगायतका नगदेबालीको सम्भावनाहरुको खोजी गरि सहयोग गर्ने तयारी गरेका छौँ’’–वडा अध्यक्ष चोखालले भने । जिल्ला बन, म्याग्दी उद्योग बाणिज्य संघ, वडा कार्यालय लगायतका निकायबाट यस गाउँलाई टिमुर गाउँको रुपमा विकास गर्न विभिन्न सहयोग हुँदै आएको छ । समुन्द्री सतहदेखि १२ सय देखि २५ सय मिटर उचाईमा टिमुरको खेती उक्तम मानिन्छ ।

प्रशोधन गरि निर्यात
केही बर्ष अघि सम्म बोटबाट टिपेका फल सुकाएर विक्रि गर्दै आएका यहाँका कृषकहरुले अहिले भने प्रशोधन गरेर टिम्मुर विक्रि गर्न सुरु गरेका छन् । जिल्ला बन कार्यालयबाट प्राप्त अनुदानबाट रु १० लाख बराबरको ग्रेडिङ, सुकाउने, पिस्ने, तौल लिने र लेबलिङ गर्ने मेसिन खरिद गरेपछि कृषकहरुले गाउँमै प्रशोधन गरेर स्तरीय टिमुर विक्रि गर्न थालेका हुन् । कृषकहरुले प्रशोधन गर्ने मेसिनहरु राख्नको लागि पक्की भवन निर्माण समेत सुरु गरेका छन् । भवन निर्माणमा बेनी नगरपालिकाले रु ५ लाख, जिल्ला बन कार्यालयले रु ३ लाख ५० हजार र स्थानीय लालिगुराँस आमा समुहले ५० हजार लगानी गरेका छन् । निर्माणधिन अबस्थामा रहेको सो भवन निर्माण गरि व्यवसायिक रुपमै टिमुरलाई प्रशोधन गरि विक्रि वितरण र निर्यात गर्ने प्रवन्ध मिलाउन लागिएको अध्यक्ष बानियाँले बताए । उनका अनुसार, भवन निर्माणलाई पूर्णता दिन बजेट अभाब देखिएको छ ।

टिमुरका विरुवाको माग पु¥याउँदै कठिन
मुखमा राख्दा रमरम गर्ने टिम्मुरको व्यवसायिक खेती गर्ने बढेपछि विरुवा विक्रिबाटै कृषकहरुले रहरलाग्दो आम्दानी गर्न थालेका छन् । प्रशंसा बहुउदेश्यीय फलफुल तथा जडीबुटी नर्सरी प्रा.लि.का सञ्चालक रहेका घतानका टिमुर कृषक सागर बानियाँले यस बर्ष मात्रै ५१ हजार टिम्मुरको विरुवा विक्रि गरेका छन् । जिल्ला बन कार्यालय, भुसरंक्षण कार्यालय, कास्की, ईलाम, दार्जिलीङ, सोलुखुम्बु लगायतका ठाउँमा विरुवा विक्रि भएको टिमुर खेती गर्दै आएका कृषक बानियाँले बताए । उनले आफ्नै नर्सरीमा उत्पादन गरेका १८ हजार विरुवा र बाँकी अन्य कृषकहरुले उत्पादन गरेका विरुवा समन्वय गरि विक्रि गरेका हुन् । टिमुरको प्रतिविरुवा ५० देखि ५५ रुपैयाँमा विरुवा विक्रि हुने गर्छ । उनका अनुसार यो बर्ष ५० हजार बढी विरुवाको माग भैसकेको छ । दोलखा अर्घखाँची, ईलाम, पर्वत र कास्कीबाट ५० हजार टिमुरको विरुवाको माग आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l