पर्यटकीय टोड्केमा करोडौँ लगानीमा रिसोर्ट ( फोटो फिचर)

  • १५ कार्तिक २०७५, बिहीबार
  • कमल खत्री
  • 3615 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण सुरु गरिएको छ । समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल टोड्के क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि टोड्के हिल रिसोर्ट प्रालिले करोडौँ लगानीमा रिसोर्ट निर्माण सुरु गरेको हो ।

गत जेठबाट निर्माण सुरु भएको रिसोर्टलाई आगामी पुसदेखि सञ्चालनमा ल्याउने गरि निर्माण कार्य भैरहेको प्रा.लिका अध्यक्ष मिनबहादुर पाईजाले बताउनुभयो । ‘‘ टोड्के क्षेत्रमा आउने पर्यटकहरु खान र बस्नको अभाबले समस्यामा परेपछि रिसोर्ट सञ्चालन गर्न लागिएको हो, अहिले धमाधम रुपमा आवास लगायतका पूर्वाधार निर्माण भैरहेको छ’’–अध्यक्ष पाईजाले भन्नुभयो ।

टोड्केको सिमाना झिँ, पुर्णगाउँ, डडुवा लगायतका बासिन्दाहरुको पहलमा ९ जना संस्थापक रहेर स्थापना गरेको टोड्के हिल रिसोर्ट प्रा.लिले म्याग्दीबासीलाई रु १ लाख देखि ५ लाख सम्म लगानी गर्न समेत अवसर दिएको छ । अहिलेसम्म २८ जनाले रिसोर्टमा लगानी गरेका छन् । रु ३ करोड लागत अनुमान गरिएको रिसोर्ट सञ्चालन गरि पर्यटकलाई सुविधा र स्थानीयबासीलाई लगानीको उचित प्रतिफल दिने गरि रिसोर्टको निर्माण र प्रचार प्रसारमा जोड दिईएको प्रालिका अर्का संचालक भिम शेरचनले बताउनुभयो ।


उहाँका अनुसार ४० जना क्षमताको १० कोटा एटेज कोटा, बार हल, १ सय जना क्षमताको सेमिनार हल , बिशिष्ट अतिथि भवन , सार्वजनिक सौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्यटकको चाप हुँदा टेण्टको व्यवस्था समेत गरिने शेरचनले बताए । प्रा.लिले साढे ४ रोपनी जग्गा गरिद गरेको छ भने आबश्यक पर्ने थप जग्गा स्थानीय सिद्ध सामुदायिक बन झिँ संग भाडामा लिने सम्झौता गरि पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।

बेनीदेखि नजीकको दुरीमा रहेको पर्यटकीय टोड्के क्षेत्रमा पर्यटकहरुको आगमन बढाउन निर्माणधिन रिसोर्टमा झिँ, पूर्णगाउँ, डडुवा, वाखेत, कुहुँ, पात्लेखेत लगायतका गाउँमा उत्पादन हुने स्थानीय कृषि उपजहरुलाई नै उपयोग गरि आर्गानिक परिकारहरु आकर्षणको रुपमा रहने अर्का सञ्चालक मोहन खत्री बताउँछन् । रिसोर्टबाटै संसारको सातौँ अग्लो धौलागिरि हिमाल सहित अन्नपूर्ण रेञ्जका एक दर्जन हिमालहरुलाई नजीकबाट नियाल्न पाउँनु थप बिशेषता रहेको छ ।
आँखै अगाडी दर्जन बढी हिमालको अवलोकन गर्न सकिने टोड्के क्षेत्रको विकासमा रिसोर्ट सञ्चालन संगै थप पर्यटक आगमन बढ्ने विश्वास लिईएको टोड्के क्षेत्रविकास कोषका अध्यक्ष बाबुराम आचार्य बताउँछन् ।

‘‘ कोषले यो क्षेत्रको विकासमा निरन्तर पहल गर्दै आएको छ, बिगतमा २ वटा महोत्सव नै सम्पन्न गरिसकेका छौँ, तर यहाँ बस्न र खानकै समस्या थियो, अब त्यो समस्या रिसोर्टले हल गर्ने भएको छ, टोड्केको विकासमा यसले महत्वपूर्ण भुमिका खेल्ने हाम्रो अपेक्षा छ’’– अध्यक्ष आचार्यले भन्नुभयो । धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश मार्गमा अवस्थित टोड्केमा अहिले झिँ, वाखेत र पूर्णगाउँबाट सडक सञ्जाल र पदमार्गले जोडिएको छ । सदरमुकाम बेनीदेखि नजीक रहेको र सवारी साधनको सहज पहुँच रहेकाले पनि टोड्केलाई जिल्लामा भित्रने पर्यटकहरुको रोजाईमा पार्न सकिने भएकाले आन्तरिक व्यवस्थापन संगै प्रचार प्रसारलाई जोड दिईएको टोड्के हिल रिसोर्टका सञ्चार व्यवस्थापक दिनेशनारायण श्रेष्ठ बताउँछन् ।

टोड्के धुरीबाट मनोरम हिमशृङ्खलाको अवलोकन संगै कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका दर्जनौँ बस्तीहरुको भुभागलाई एकै ठाउँबाट अवालकेन गर्न सकिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l