म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

  • ३० आश्विन २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2739 पटक पढिएको


म्याग्दी ३० असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी मंगलबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइएको हो ।


सदरमुकाम बेनी, ज्यामरुककोत, राखुभगवती, ताकम, पर्वतको मल्लाज लगायतका ठाउँमा रहेका कोतघरहरुमा शास्त्रीय बिधि अनुसार शक्तिको आरधनाका साथ पूजा गरेर फुलपाती भित्र्याइएको छ ।बेनी स्थित कोतघरमा शिवालय मन्दिरबाट फुलपाती ल्याएर भित्र्याइएको थियो । नेपाली सेनाको श्रीबक्स गुल्म र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहितको टोलीले शिवालय मन्दिरबाट ल्याएको फुलपाती बजार परिक्रमा गराई कोतघरमा बिधीपुर्वक भित्र्याइएको थियो ।


संगमचोकमा पुजाआजा गरिनुका साथै फुलपाती भित्र्याउने बेलामा सेना र प्रहरीको टोलीले सलामी अर्पण गरेका थिए । सो कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, श्रीबक्स गुल्मका गुल्मपती राजन दाहाल, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली लगायत जनप्रतिनिधि र बजारबासीको उपस्थिती रहेको थियो ।लक्ष्मिनारायण मन्दिर संरक्षण समितिले पुजा स्थलमा दुर्गा माताको महिमाको विषयमा भजनकिर्तन गरेका थिए । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फुलपाती भित्र्याएपछि बढेको छ ।

फुलपातीका दिनदेखि सरकारी कार्यालय बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र भएको छ । सहरी क्षेत्र सुनसान बन्न थालेका छन् । ग्रामीण भेगमा दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङ हाल्न थालीएसंगै दसैँको रौनकता छाएको छ ।

सन्तोष गौतम