मालिकाको वडामा मेलमिलाप केन्द्र

  • ३० आश्विन २०७५, मंगलवार
  • 1421 पटक पढिएको

 

बेनी ३० असोज । म्याग्दीको मालिका गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । गाउँपालिका स्तरीय न्यायिक समितिको सेवालाई प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरिएको हो ।

मेलमिलाप कर्ताहरुलाई तालिम प्रदान गरेर सूचीकृतको प्रक्रिया अघि बढाएको न्यायिक समितिका संयोजक समेत रहनुभएकी गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । वडा कार्यालय परिसरमा मेलमिलाप केन्द्र स्थापना गरी सूचीकृत मेलमिलाप कर्ता मार्फत न्यायिक समितिको सेवा प्रदान गरिने उपाध्यक्ष बिटालुले जानकारी दिनुभयो ।

गत जेठ महिनामा ४० जना वडाका जनप्रतिनिधि, भद्रभलादमी र अगुवाहरुलाई एक हप्ताको मेलमिलाप सम्बन्धी तालिम प्रदान गरिएको थियो । वडामा मेलमिलाप केन्द्र स्थापना, फर्निचर ब्यवस्थापन र पुर्नताजकी तालिम सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ ।

वडामा मेलमिलाप केन्द्र स्थापना भएपछि गाउँपालिकासम्म आउनुपर्ने समस्या कम हुने न्यायिक समितिका सदस्य दोरण शेरचनले बताउनुभयो । वडाका जनप्रतिनिधिहरुको रोहबरमा मेलमिलाप केन्द्रमा छलफल गरेर समाधान हुन नसकेका मुद्दा मात्र गाउँपालिकामा आउने ब्यवस्था मिलाउन लागिएको हो ।

न्यायिक समितिमा मुद्दाको चाप कम हुने र जनतालाई पनि सजिलो हुने भएकाले वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागिएको उपाध्यक्ष बिटालुले बताउनुभयो । मालिका गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको करिब तीन महिनाको अवधिमा २५ वटा मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा ३६ वटा दर्ता भएका थिए । घरेलु हिंसा, पारिवारीक र सामाजिक विवाद, साध सिमाना, अंशबन्डा, घरजग्गा, लेनदेन जस्ता विषयमा न्यायिक समितिमा मुद्दा पर्ने गरेका छन् । समितिले दुवै पक्षलाई राखेर छलफल गराई सहमती र मेलमिलाप कायम गराउन सहजिकरणको भूमिका खेलेको छ ।

न्यायिक समितिले काम गर्न थालेपछि स–साना झै–झगडा, मुद्दा मामिला र विवादको विषयमा प्रहरी, प्रशासन र अदालत सम्म पुग्नुपर्ने समस्या कम भएको स्थानीयबासीले बताएका छन् । मालिका गाउँपालिकाको न्यायिक समितिले कानुनी सल्लाहकार समेत नियुक्त गर्ने निर्णय भएको छ ।
हाल इलाका प्रहरी कार्यालयका प्रतिनिधि र कानुन ब्यवसायीसँग परामर्श लिएर उजुरीको विषयमा छलफल हुने गरेको छ । न्यायिक समितिलाई कर्मचारी र इजलाश कक्षको आवश्यकता रहेको उपाध्यक्ष बिटालुले बताउनुभयो ।