सहज शिक्षा कोषमा दुई लाख

  • २९ आश्विन २०७५, सोमबार
  • 1717 पटक पढिएको

बेनी २९ असोज । बेनी नगरपालिका–६ले स्थापना गरेको सहज शिक्षा कोषमा करिब दुई महिनाको अवधिमा दुई लाख रुपैया जुटेको छ । गरिब, विपन्न, पारिवारीक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले गत भदौ १० गते कोष स्थापना भएको थियो । सरकारले निर्वाह खर्च वापत वडाका जनप्रतिनिधिहरुलाई उपलब्ध गराएको रकमबाट पचास हजार रुपैया जम्मा गरि सुरु गरिएको कोषमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट हालसम्म दुई लाख रुपैया संकलन भएको वडा अध्यक्ष कृष्णबहादुर बानियाले जानकारी दिए ।

कोषमा वडा अध्यक्ष कृष्णबहादुर बानियाले बीस हजार, वडा सदस्यहरु गणेशबहादुर शाही, सावित्रीकुमारी उपाध्याय र राजकुमारी बिकले दश÷दश हजार रुपैया उपलब्ध गराएका थिए । बेनी स्थित विश्वामित्र सहकारी संस्थामा खाता खोलेर राखिएको कोषमा पाँच लाख रुपैया पु¥याउने र सोको ब्याजबाट वडाका गरिब, विपन्न, अनाथ र पारिवारीक बिखण्डनमा परेका बालबालिकाको शिक्षामा सहयोग गर्ने वडा अध्यक्ष बानियाले बताए ।

कोषबाट कात्तिक १ गतेबाट लागू हुने गरी तीन जना अनाथ बालकालाई सहयोग गरिएको छ । स्वर्गीय गुणबहादुर बि.कका छोराहरु सुदीप, लव र कुशका लागि मावि तहको अध्ययन गर्दा सम्मका लागि कोषबाट खाद्यान्न र पोशाक उपलब्ध गराउने निर्णय भएको छ । वर्षिक आठ बोरा चामल र दुई÷दुई जोडी विद्यालय पोशाकको ब्यवस्था मिलाइने वडा अध्यक्ष बानियाले जानकारी दिए ।

बेनपा ६ मा एक वटा मावि र तिन वटा आधारभुत विद्यालय छन् । वडाको पहलमा विद्यालयमा कुनै पनि शूल्क नलिने ब्यवस्था मिलाइएको छ । ६ सय ६७ घरदुरी रहेको बेनपा ६ मा ३ हजार ५४ जाना जनसंख्या रहेका छन् ।