मुटुरोग शिविरबाट छ सय बढी लाभान्वित (फोटो फिचर)

  • १८ आश्विन २०७५, बिहीबार
  • कमल खत्री
  • 2487 पटक पढिएको

म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर परिसरमा विहिवार आयोजित निःशुल्क मुटुरोग परिक्षण शिविरबाट छ सय जना बढी सर्वसाधारण लाभान्वित भएका छन् । राखु समाज कल्याण समिति काठमाण्डौले गाउँपालिकाको संयोजन र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा उत्साहजनक रुपमा सर्वसाधारणले मुटुरोगको परिक्षण गराएका हुन् ।

शिविरमा कुल ६ सय २ जनाले सेवा लिएको समाजका प्रवक्ता प्रविन कुमार मल्लले जानकारी दिए । एक दिने शिविरमा शहीद गंगालालका मुटुरोग विशेषज्ञ प्रा.डा. रबी मल्ल, डा. राकेश बहादुर अधिकारी लगायतका चिकित्सकहरुको टोलीले मुटु परिक्षण, परामर्श सेवा दिएका थिए । शिविरमा म्याग्दीको ६ वटै स्थानीय तहसंगै पर्वतको जलजला गाउँपालिकाका स्थानीयले मुटुरोगको परिक्षण सेवा लिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।

‘‘ उपचार गराउन सुविधासम्पन्न अस्पताल सम्म पुग्न नसकेकाहरुलाई स्वास्थ्य परिक्षण गरि रोग पहिचान गर्न शिविरले सहयोग गरेको छ, उनीहरुको समेत अबस्था हेरेर थप उपचारलाई सहज बनाउन पहल गरेका छौँ’’–अध्यक्ष भण्डारीले भने । जलजला गाउँपालिकाको मल्लाजबाट मुटुरोगको उपचार गराउन आएकी ७२ बर्षिय फुलकुमारी जिसीले शिविरबाट उपचार गर्न पाउँदा खुसी लागेको बताइन् । ‘‘ ठुला अस्पताल जाँदा आउँदा नै पैसा सकिन्छ, त्यहाँका टाक्टरहरु यही आएको मौकाले सुविधा भयो’’– जिसीले भनीन् । शिविरमा मुटुरोगको परिक्षण संगै ईसीजी, ईको, पिटि, आइएनआर लगायतको जाँच समेत गरिएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षणबाट पहिचान भएका मुटुरोगीहरुलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारको प्रवन्ध मिलाईएको अस्पतालका मुटुरोग विशेषज्ञ डा.मल्लले बताए । ‘‘जो मुटुरोगको उपचार गराउन अस्पताल समेत जान सक्दैनन, त्यस्ता विरामीहरुलाई राहत पुगोस भनेर शिविर आयोजना गरिएको हो , यहाँ पहिचान भएको विरामीमध्ये १५ बर्षमुनी र ७५ बर्षमाथिका मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क हुन्छ, अन्यलाई समेत अहुलियत दिएर उपचार गराउँछौँ’’– डाक्टर मल्लले भने ।

राखु समाजले यस अघि पनि गंगालाल अस्पतालसंग सहकार्य गरि मुटुरोग शिविर सञ्चालन गर्दै आएको अध्यक्ष कृष्ण मल्लले बताए । उनले गंगालाल अस्पतालमा मुटुरोगीहरुको उपचारको लागि सरकारले दिएको सुविधा र निशुल्क सेवाबारे आम मानिसलाई जानकारी गराउन समेत शिविर राखिएको बताए ।
कोहीले पनि उपचार गराउन नसकेर रोग बोकेर बस्न नपरोस भन्ने उदेश्यले आयोजित शिविरबाट सर्वसाधारणले भरपूर्ण लाभ लिएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्ले घर भई काठमाण्डौमा बसोबास गर्नेहरु आबद्ध राखु समाज कल्याण समितिले जिल्लामा यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

शिविरको १०५ बर्षिय ज्येष्ठ नागरिक भद्रकुमारी मल्लले उद्घाटन गरेकी थिईन । समाजका अध्यक्ष प्रेम बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष जिवन कुमार मल्लले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्र बहादुर केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l