बाढीले खोस्यो ‘बुढ्यौलीमा गास र बास’

  • ५ आश्विन २०७५, शुक्रबार
  • धिरन खत्री
  • 3302 पटक पढिएको


म्याग्दी, ५ असोज । रघुगंगा गाउँपालिका–८ खरिबोटका ७९ बर्षिय चन्दबहादुर छन्त्यालको बाढीले ‘गास र बास’ खोसेको छ । खेतीकिसानी गरि जिविकोपार्जन गर्दै आएका छन्त्यालको परिवारमा भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीको कटानले घर सहित सबै थोक बगाएको हो । बृद्ध अमस्थामा रहेका चन्द्रबहादुर र उनकी धर्मपत्नी मनकुमारी जिवनको उत्तरार्धमा बाढीबाट पिडित भएर घरबार विहिन बनेका छन् ।


‘‘ हेर्दा हेर्दै घर सहित सबै सामान बगायो, दिउँसोमा बाढी आएकाले घरबाट बाहिर निस्किएर ज्यान जोगायौँ, विहान बेलुका के खाने, कहाँ बस्ने केही ठेगान छैन,’’– चन्द्रबहादुरले मलिन स्वरमा भने । आफ्नो जिवनभर रघुगंगामा यति ठुलो बाढी कहिल्यै नआएको बताउँदै चन्द्रबहादुरले जिवन जोगिएपनि जिउने थलो नरहेको बताए । छन्त्यालको घरभित्र रहेको रु १ लाख ५० हजार नगद समेत बाढीले बगाएको उनले बताए ।


धौलागिरि हिमालको फेदी रहेको कुईनेमंगलेको माथिल्लो भुभागमा भारी बर्षा सहित छरी देखि माथिको जंगलमा गएको पहिरोले थुनिएको रघुगंगामा बाढी आउँदा खरिबोटमा चन्द्रबहादुरकै छोरा याम बहादुरको घर समेत पूर्ण रुपमा क्षती भएको छ । खरिबोटमा बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तीप्रसाद बिकको घर उच्च जोखिममा परेपछि उनीहरु विस्थापित भएका छन् ।
नदी कटानले रघुगंगाको किनारमा अवस्थित खरिबोटका ६ घर, घ्यासीखर्कका १६ घर, तेस्रो बगरका २ घर, र छरीका २ घरमा समेत उच्च जोखिममा पारेको छ । यस अघि पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत आपुर्ती बन्द भएको थियो भने एक जनाको करेन्ट लागेर ज्यान गएको थियो । आलु, कोदो, सिमी लगायतको खेती गर्दै आएका यहाँका कृषकहरुको खेतीयोग्य जमित बगाएको छ भने अन्नबालीमा समेत लाखौँको क्षती पु¥याएको स्थानीय केसब छन्त्यालले बताए ।


खरीबोटमा रहेको आमासमुह भवन र खेलकुद मैदान पुर्ण जोखिमा रहेको छ। साहरा युवा कल्वको भवन र खेलमैदान बाढीले पुरीएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगंगा नदीमाथि रहेको झोलुङगे पुल उच्च जोखिममा रहेको स्थानीय चन्द्रबहादुर छन्त्यालले बताए । स्वास्थ्य चौकी भवन निर्माण स्थलमा बाढी परेर क्षत्ती पु¥याएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले क्षति पु¥याएको वडा अध्यक्ष गमान छन्त्यालले बताए ।


रघुगंगा गाउँपालिकाले प्रभावीत क्षेत्रको स्थलगत निरिक्षण र क्षत्ती विवरण संकलन गर्न पुगेका गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले थप क्षत्ती हुन नदिन सर्तकता अपनाउन, रोकीएको पढाईलाई सूचारु र जनजिवनलाई सहज बनाउन गाउँपालिका, जिल्ला र देशविदेशमा सहयोगको लागि आग्रह गरिएको बताए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l