जनशक्ति अभाबले अस्तव्यस्त बन्दै बेनी अस्पताल

  • ३१ भाद्र २०७५, आईतवार
  • कमल खत्री
  • 2826 पटक पढिएको

म्याग्दी, ३० भदौ । एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा रेफर गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको सल्यक्रिया मार्फत आमा र बच्चाको ज्यान जोगाएकोमा म्याग्दीको बेनी अस्पतालको प्रसंसा निकै भयो । नहोस पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमाना सम्म पु¥याईएकी विरामी सरस्वती जीसीलाई पहिरोले सडक अबरुद्ध बनेपछि फर्काएर बेनी अस्पतालमा सल्यक्रिया मार्फत आमा र बच्चा दुबैको ज्यान जोगाईएको थियो ।

यो एक प्रतिनिधि मुलक उदाहरण हो बेनी अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवाको । पछिल्लो समय देशभरका जिल्ला अस्पतालहरुको सेवा प्रवाहमध्ये उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बेनी अस्पतालको नाम माथि नै छ । सल्यक्रिया मार्फत हुने सटील प्रसूती सेवा लगायत अन्य अप्रेशन सेवाहरु समेत प्रवाह हुँदै आएको यस अस्पताल यतिबेला भने जनशक्ति अभाबले अस्तव्यस्त बन्न थालेको छ । बेनी अस्पताल यतिबेला ‘अभिभावक विहिन’को अबस्थामा छ ।

एक महिनादेखि अस्पताल विकास समिति नेतृत्व विहिन छ भने अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको समेत २ महिनाअघि सरुवा भएपछि बेनी अस्पताल व्यवस्थापकीय र प्रशासनिक नेतृत्व विहिनको अबस्थामा पुगेको हो । प्रदेश सरकारले अस्पतालको व्यवस्थापनको लागि संयन्त्र तयार गर्न नसक्नु र कार्यालय प्रमुख लगायतका कर्मचारीहरुमो अभाब पदपूर्ति नगर्दा सेवा प्रवाह फितलो बन्न थालेको गुनासो बढेको छ । अस्पतालमा सेवा लिन जाँदा जिल्लामै उपलब्ध हुने स्वास्थ्य सेवा लिन समेत रेफर भएर पोखरा जानुपर्ने बाध्यता हुन थालेको बेनी नगरपालिका–९ गलेश्वरका युवा दिपक कार्कीले बताए ।

‘‘ अस्पतालमा अस्तव्यस्तता बढेको छ, नागरिकले दुख पाउन थालेका छन्, अस्पताल वरपर फोहोर बढेको छ, यसको व्यवस्थापनमा तत्काल सम्बन्धित निकायले ध्यान दिन जरुरी छ’’–कार्कीले भने । उनले अस्पतालको अस्तव्यस्ताबारे जिल्लाबाटै प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र संघिय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापालाई ध्यानकर्षण गराएको जानकारी दिए । बेनी अस्पतालमा म्याग्दीसंगै पर्वतको जलजला गाउँपालिका र बागलुङको पश्चिम क्षेत्रका नागरिकहरु समेत उपचार गराउन आउने गर्छन् । मेडिकल अधिकृत भुषण कुमार सुवेदी अस्पतालको निमित्त प्रमुखको जिम्मेवारीमा रहेपनि अस्पतालको प्रमुख डाक्टरमा मन्त्रालयले कसैलाई नखटाएको कारण आर्थिक काम प्रभावित बनेको छ

नेतृत्व विहिन अबस्थाले कर्मचारी र स्वास्थ्यकर्मी माथि निगरानी र नियन्त्रणको अभाबमा सेवा प्रवाह फितलो र भद्रगोल सिर्जना गरेको छ । थोरै जनशक्ति हुँदा एउटै व्यक्तिले दिनरात सेवा दिनुपर्ने झण्झट स्वास्थ्यकर्मीमाथि थपिएको छ । जनशक्ति र नेतृत्व अभाबले अस्पतालको आकस्मीक र ओपिडी सेवा फितलो र कमजोर बनेपछि रेफर भएर बाहिर उपचार गराउन जानुपर्ने बाध्यता हुन थालेको गुनासो बढको छ । मन्त्रालयबाट बेनी अस्पतालमा सरुवा भएर आएका तीन जना डाक्टरहरु समेत यहाँ नआईकनै बिचबाटोबाटै काज मिलाएर पोखरा बसेको अस्पताल प्रशासनले जनाएको छ । यस अस्पतालमा हेल्थ असिस्टेन्ट, अनमी, अहेब लगायतका जनशक्ति समेत प्रयाप्त छैनन् ।
सेवा प्रवाह फितलो
नेतृत्व विहिन र जनशक्तिको अभाबमा सेवा प्रवाहमा कठिनाई भैरहेको अस्पतालका मेडिकल अधिकृत बिराट शर्माले जानकारी दिए । ५० सैयामा स्तरबृद्धि गरिएको बेनी अस्पतालमा १० जना बिशेषज्ञ डाक्टर, ४ जना मेडीकल अधिकृत, १ जना डेन्टल सर्जनको दरबन्दी रहेको छ । अहिले कुनैपनि विशेषज्ञ डाक्टरको पदपुर्ति हुन सकेको छैन भने मेडीकल अधिकृत २ जना समेत अध्ययन विदामा छन् । स्विकृत दरबन्दी अनुसारको पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको मेडिकल अधिकृत शर्माको भनाई छ । ‘‘हामी मेडीकल अधिकृत दुई जनाले अस्पतालमा प्रशासन र विरामीको उपचारसम्म व्यवस्थापन गर्नुपर्छ, छात्राबृत्ति करारमा स्वास्थ्य सेवा विभागले पठाएको केही डाक्टर र निक साईमन इन्सीच्युटले पठाएको डाक्टरको भरमा अस्पताल चलेको छ , यो निकै दुखलाग्दो अबस्था हो’’–डाक्टर शर्माले भने । अस्पतालको सेवा प्रवाहबारे जनगुनासा बढीरहेको र सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएपछि प्रदेशको बिभागीय मन्त्री र संघीय मन्त्रालयमा जानकारी गराईको उनले जानकारी दिए । अहिले यहाँ कार्यरत केही डाक्टरहरु समेत सरुवा भएर जाने तरखरमा छन् ।
अस्पतालको भद्रगोल हटाउन पहल
अस्पतालको सेवा प्रवाहबारे गुनासा बढेपछि जिल्ला स्थित सरोकारवालाहरुले अस्पतालको समस्याबारे जानकारी लिएका छन् । युवा नेता दिपक कार्कीको पहलमा गण्डकी प्रदेश साँसद विनोद केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतले बेनी अस्पतालमा पुगेर सेवा प्रवाहको अबस्थाबारे निरिक्षण गरेका हुन् । जनशक्तिको अभाबमा सेवा प्रभाब फितलो बनेको रहेछ, अस्पताल व्यवस्थापनको नेतृत्व र जनशक्तिको व्यवस्थापनको लागि प्रदेश सरकारसंग पहल गर्छु’’–साँसद केसीले भने ।

नेपालभरमै उत्कृष्ट सेवा प्रवाह हुने गरेको अस्पतालहरुको सुचिमा पर्ने बेनी अस्पतालमा नेतृत्व र जनशक्ति अभाबको समस्यालाई तत्काल हल गर्न सम्बन्धित निकायको ध्यानकर्षण गराउने उनले बताए । यो क्षेत्रमै राम्रो अस्पतालको रुपमा गुणस्तर सुधार भैरहेको बेनी अस्पतालमा एकै पटक कार्यालय प्रमुखको सरुवा हुनु र विकास समिति नेतृत्व विहिन हुनुले समस्या सिर्जना गरेको हो । जिल्लामा रहेका स्वास्थ्य चौकीहरुमा रहेका जनशत्तिललाई समेत पुलको रुपमा ल्याएर खटाउने र अस्पतालको सेवालाई तत्कालको लागि मजबुत बनाउने गरि छलफल भैरहेको प्रजिअ अधिकारीले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l