युवा ईञ्जिनियरहरुको नेतृत्वमा सुपर घलेम्दी निर्माण हुँदै, पिपीए सम्झौता

  • १५ भाद्र २०७५, शुक्रबार
  • 3480 पटक पढिएको

म्याग्दी १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण हुन लागेको सुपर घलेम्दी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपीए) सम्झौता भएको छ । ९.१४ मेगावाट क्षमत्ताको आयोजनाको प्रर्वद्धक कम्पनी सुपर घलेम्दी हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रति युनिट ८ रुपैया ४ पैसा र बर्खामा प्रति युनिट ४ रुपैया ८ पैसाका दरले विद्युत खरिद बिक्री सम्झौता भएको आयोजनाका संस्थापक मनप्रसाद कडेलले जानकारी दिनुभयो ।

कडेलका अनुसार भदौ ५ गते पिपीए गरेपछि जेनेरेशन लाईसेन्स (पूर्वाधार निर्माणको अनुमतीपत्र) लिने प्रक्रिया अघि बढाएको छ । आयोजनाले आगामी मंसिरदेखि पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरेको छ । आयोजनाको बाँध घलेम्दीखोलाको मुहानमा छ । निर्माणाधिन घलेम्दीखोला जलविद्युत आयोजनाको बाँध भन्दा दुई सय मिटर माथि विद्युतगृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर र पेनस्टक पाईप एक किलोमिटरको हुनेछ । नेपालको विभिन्न क्षेत्रमा कार्यरत युवा ईञ्जिनियरहरुको अगुवाईमा निर्माण हुन लागेको आयोजनाबाट २०८० को चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कम्पनीका अध्यक्ष अनन्तराज घिमीरेले कम लागत र छोटो समय अवधिमा आयोजना निर्माण गरिने बताउनुभयो । युवा ईञ्जिनियरहरुको अगुवाईमा नेपालकै नमुना जलविद्युत आयोजना बनाउने उहाँको दावी छ । दशप्रतिशत साधारण सेयर, दशप्रतिशत प्रभावीत सेयर र दश प्रतिशत संस्थापक सेयर रहने आयोजनाको वित्तीय ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

रन अफ द रिभर प्रकृतीको आयोजनाबाट उत्पादीत विद्युत ४ किलोमिटर टाढा दाना सब स्टेशनमा पु¥याएर कालीगण्डकी कोरीडोर मार्फत केन्द्रिय प्रशारण लाईनमा जोडिने भएको छ । सुपर घलेम्दी निर्माण गर्न लागेको समूहले ईञ्जिनियरीङ कलेज, जलजला बिल्डर्स एण्ड रिसर्च, एभरेष्ट बिल्डर्स, एबिसी बिल्डर्स सञ्चालन गरेको छ । अध्यक्ष घिमीरे मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सहायक डिन हुँदा त्यहाँ ईञ्जिनियरीङ तर्फ हाईड्रोपावर विषयमा पठनपाठन सुरु गरिएको थियो । हाईड्रो भिलेजको रुपमा परिचित नारच्याङमा हाल ५ मेगावाट क्षमत्ताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला र १०० मेगावाट क्षमत्ताको निलगिरी र निलगिरी क्यास्केट जलविद्युत आयोजना निर्माण भैरहेको छ । १६४ मेगावाट क्षमत्ताको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको निर्माण स्थल समेत नारच्याङ हो । –––