चौथो राष्ट्रिय व्याडमिन्टन बेनीमा सम्पन्न

आर्मीको बर्चश्व

  • १३ चैत्र २०७३, आईतवार
  • 2423 पटक पढिएको

म्याग्दी, १३ चैत । चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगितमा त्रिभुवन आर्मीले बर्चश्व जमाएको छ । गंगटा युवा क्लब गोगबु काठमाडौँको आयोजनामा बेनीमा शनिबार सम्पन्न फाइनल खेलमा अधिकाँश विधामा आर्मीले बर्चश्व जमाउन सफल भयो ।

एकल पुरुष तर्फ राष्ट्रिय च्याम्पियन आर्मीका रत्नजित तामाङले कठिन जित निकाल्दै आफ्नो दबदबालाई निरन्तरता दिए । उनले आर्मीकै नविन श्रेष्ठलाई २–१ सेटले पाखा लगाए । तामाङले ६० हजार पुरस्कार प्राप्त गरे । खुल्ला पुरुष डबलतर्फ भने नेपाल पुलिस क्बलका सुर्य महर्जजन र राम राईको जोडी च्याम्पियन बने । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा १८–२१, २३–२१ र २८ २६को सेटमा आर्मीका अनिश श्रेष्ठ र गौरब दाहालको जोडीलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
च्याम्पियन टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे भने उपविजेताले ५० हजार रुपैयाँमा चित्त बुझाए । महिला एकलतर्फ आर्मीका नाङशाल तामाङ च्याम्पियन बन्दा आर्मीकै जेसिशा गुरुङ उपविजेता बनिन् । उनीहरुले नगद ५० र ३० हजार रुपैयाँ नगद जितिन् । पुरुष १७ बर्षमूनिमा काठमाडौँका प्रिन्स ढकाल च्याम्पियन बने । उनले आर्मीका प्रतुल्ला महर्जनलाई सोझो सेटमा पाखा लगाए ।
उनले २० हजार नगद पुरस्कार प्राप्त गरे । डबल मिक्सतर्फ कास्कीका विशाल खड्का र यामकुमारी गुरुङको जोडी विजयी भए ।  उनीहरुले आर्मीका सुरज महर्जन र नाङशाल तामाङको जोडीलाई पराजित गरेका थिए । ४५ बर्ष भन्दा माथि डलबमा श्याम पराजुली र नविनबाबु श्रेष्ठ काठमाडौँ  विजयी भयो भने बागलुङका निर्माणकुमार श्रेष्ठ र चन्द्रकुवेर खपांगीको जोडी दोश्रो भए ।च्याम्पियन खेलाडीलाई नेपाल व्याडमिन्टन संघका अध्यक्ष बुद्धिबहादुर श्रेष्ठ, क्लबका अध्यक्ष रेशम पुन, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
जिल्ला तथा क्षेत्रीयस्तरमा समेत खेलाडी उत्पादन गर्ने उद्देश्यले मोफसलमा प्रतियोगिता आयोजना गरेको क्बलले जनाएको छ । म्याग्दीका युवाहरुको सक्रियतामा काठमाडौँमा स्थापना भएको क्लबले हरेक बर्ष राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।