दग्नाम दर्मिजा समाज यूकेको दशौं वार्षिकोत्सव, दग्नामको चिनारी गित बिमोचन

  • ३ भाद्र २०७५, आईतवार
  • 2828 पटक पढिएको

म्याग्दी, ३ भदौ । दग्नाम दर्मिजा समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव शनिबार लन्डनस्थित नर्थहोल्ट सोसियल क्लबमा कार्यक्रमका बीच मनाएको छ । दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सव तथा समर भेलामा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो ।
म्याग्दीको रघुगंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने उक्त समाज बेलायतमा रहेका गाउंलेहरुलाई आईपर्ने समस्यामा सहयोग गर्न र गोलबद्ध हुन गठन गरिएको थियो ।

सन् २००८ मा स्थापित समाजले गाउंको शिक्षा र यातायातमा काम गरिरहेको छ । समाजको नेतृत्वमा विदेशभर रहेका दग्नाम दर्मिजावासीहरुबाट करिब ७० लाख रुपैयां संकलन गरेर समाजले एक अक्षय कोष खडा गरि दग्नामको जनता मावि दग्नाममा दुई शिक्षकलाई तलब प्रदान गरिरहेको छ । टिका बहादुर गर्बुजा पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजका सदस्यहरु र अन्य अतिथीहरु पुन समाज यूके उपाध्यक्ष धन पुन, रत्न शाही लगायतको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी म्याग्दीका कांग्रेस सभापति खम्बीर गर्बुजाले समाजको मातृभूमि प्रेमको प्रशंसा गर्दै यस समाजका सामाजिक गतिविधि सरहानीय रहेको बताउनुभयो ।

बेलायतमा रहेर पनि समाजले आफ्नो कला, संस्कृति र परम्परा जगेर्ना गरिरहेको प्रमुख अतिथी गर्बुजाले बताउनुभयो । संस्थाका अध्यक्ष गर्बुजाले संस्थालाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत उस्तै सहकार्यको आशा व्यक्त गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष हिराबहादुर गर्बुजाले स्वागत मन्तव्य र नेत्रमान गर्बुजाले सञ्चालन गरेको उक्त कार्यक्रममा पामाया गर्बुजा, रिता, सुशिला, मनु गर्बुजा, अलिन, सोफी, नन्द गर्बुजा लगायतले आकर्षक नृत्य प्रस्तुत गरे भने कृष्ण र रविन थापाले गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ग्रयाजुएट्स गर्ने विद्यार्थी र अन्य सहयोगीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । यसैबीच, उक्त कार्यक्रममा म्याग्दीको दग्नाम गाउंलाई चिनाउने उद्देश्यले तयार पारिएको एक म्यूजिक भिडियो पनि सार्वजनिक गरियो । प्रमुख अतिथी नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले भिडियो विमोचन गर्नुभएको हो । कार्यक्रमममा सस्थाका मिडिया सयोजक कुमार गर्बुजा मगरले मिडियाको प्रमुख भूमिका रहेको भन्दै आभारसहित गाउंठाउंलाई समेटेर भिडियो बनेकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । रघुगंगा गाउंपालिका–४ दग्नामबाट स्वदेश तथा विदेशमा रहेका दग्नामबासीको आर्थिक सहयोगमा तयार पारिएको गीत दग्नाम, सदरमुकाम बेनी, पोखरा, काठमाण्डौं र यूकेमा एकसाथ विमोचन भएको थियो ।

‘आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गरौं, पर्यटन र विकासको लागि विश्व सामु हाम्रो दग्नाम गाउंलाई चिनाउने प्रयत्न गरौं’ भन्ने मुल नाराका साथ ‘गुरांस फुल्ने, हिमाल हांस्ने’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियोमा ग्रामीण पर्यटन तथा धार्मिक क्षेत्र समेटिएको छ । म्यूजिक भिडियोको निर्माणका लागी स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले ६ लाख ९९ लाख ३१७ रुपैयां संकलन गरेका थिए । जनजातिको भेषभूषा, ग्रामीण जनजीवन देखि भूमे पूजाको दृश्य समेत भिडियोमा छ । गीतमा चर्चित गायिका गीता पाइजा, लोक पप गायक गगन पुनको स्वर छ । खिम गर्बुजा, नमुना गर्बुजाको शब्द रहेको गीतमा आंसु लामाको संगीत छ भने निर्देशन पुष्कर विवेक थापाले गरेका छन् ।

Source :www.londonnepalnews.com