म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन

  • ३ भाद्र २०७५, आईतवार
  • 3102 पटक पढिएको

यार्सागुम्बाको परिचय

म्याग्दी / यार्सागुम्बा अर्थात यार्सा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतलीको लार्भामा उम्रिने एक किसिमको परजीवी च्याउ हो । यसको बैज्ञानिक नाम Cardyceps sinensis हो । यो नेपालको उच्च हिमाली भेगमा पाईने अत्यन्त दुर्लब र बहुमुल्य जडिबुटी हो । तिब्बती भाषा यार्चाकुम्भू अपभ्रंस भएर नेपाली भाषामा यार्सागुम्बा भएको मानिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको वर्षा र ‘चा’ भनेको घाँस ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार नभइकन वैज्ञानिक दृष्टिकोणले आस्कोमाइसेट्स वर्ग अन्तरगतको एक प्रकारको उच्च ढुसी अर्थात च्याउ हो । समुन्द्र सतहदेखी ३८ सय मिटरदेखी ४८ सय मिटरको उचाईमा यो पाईन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पहेलो हुन्छ । जमीन मुनिको भाग ४ मि. मि मोटो र ४ सेन्टीमिटर जति लामो तथा माथीको भाग मसिनो ५–६ से.मि जति लामो हुन्छ ।


चीन, यार्सागुम्बा संसारकै सबैभन्दा धेरै उत्पादन गर्ने मुलुक हो । विश्वमा यार्सागुम्बा उत्पादनको करिव ९५ प्रतिशत भाग चीनले मात्र ओगटेको छ । भने नेपाल यार्सागुम्बा उत्पादनमा दोस्रो मुलुक हो । विश्वमा पाईने ५४० प्रजातीका यार्सागुम्वा मध्यनेपालमा करिब १७ प्रजातिका यार्सागुम्बा पाईन्छ ।नेपालमा यसको प्राकृतिक वितरण उत्तरी भेगको २७ वटा उच्च पहाडी र हिमाली जिल्लाको हिउँ पर्ने चौरीखर्क तथा घाँसे मैदानमा रहेको पाइन्छ । नेपालमा यार्साको व्यापार सन् १९८० मा डोल्पा जिल्लाबाट शुरु भएको हो ।

यार्सागुम्बाको महत्व :
यार्सागुम्बा हिमाली भेगमा पाईने बहुमुल्य जडिबुटी हो । परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ। नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबर्धक टोनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ।यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटी रूपमा लिइन्छ। बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ । त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पान र क्षयरोग, लगायतका रोग लागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गरिन्छ । त्यसैले बहुमूल्य जडिबुटी मानिन्छ ।

वजार र मुल्यः
नेपालले विश्वको जम्मा यार्सागुम्बा उत्पादनको करिव ३ प्रतिशत उत्पादन हुन्छ । यार्सागुम्बाको मुख्य बजार भनेको चीन हो । अमेरीका, क्यानडा, युरोप लगायतका बजारमा पनि यार्सागुम्बाको बजार निरन्तर बढिरहेको छ । नेपालको स्थानीय बजारमा प्रतिगोटा २०० देखि २००० रुपैयामा विक्री भैरहेको छ । भने यसको नेपालका ठुला सहरहरुमा प्रतिकेजि २० लाख देखि ३२ लाखसम्म कारोबार भैरहेको छ । चीनमा उच्च गुणस्तरको यार्साको सरदर मुल्य ७० लाख प्रतिकिलो सम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाईट इबे डट कममा यसको मुल्य ५० हजार अमेरिकी डलर प्रतिकेजी राखिएको छ । विश्वभरमा वर्षेनि करिब ५ देखि ११ अर्व अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ ।

तथ्यको विश्लेषणः म्याग्दीको यार्सागुम्बा संकलन र व्यवस्थापनः एक समाजशास्त्रीय अध्ययन
म्याग्दी जिल्लाको ३८०० मि. भन्दा माथीका भेग, रघुगंगा गाउँपालिकाको कुईनेमङ्गले, चिमखोला अन्नपुर्ण गाउँपालिकाको दाना, धौलागीरी गाउँपालिकाको लुलाङ्, गुर्जा, मुदी, मल्कवाङमा यार्सागुम्वा संकलन हुन्छ । जिल्ला बन कार्यलयको अनुसार म्याग्दीमा करिब ३२ केजी यार्सा उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
यार्सा संकलनका लागी बैशाख र जेठ महिनामा ठुलो भिड लाग्छ । यार्सा पाईने भेगका मानिसहरु सम्पुर्ण परिवार सहित करिब २ महिना लेकमै यार्सा खोज्न विताउने गरेका छन् । म्याग्दी र अन्य आसपासका विभिन्न जिल्लाबाट पनि यार्सा संकलन गर्न मानिसहरु आउने गरेका छन् ।यार्सा संकलनको लागी बुझाउनु पर्ने करको दायरा स्थानीय र अन्यको लागी अन्तर छ । स्थानीयहरुले २ हजार देखि ५ हजारसम्म राजस्व बुझाउने गरेका छन् भने अन्यले १० हजार भन्दा धेरै राजस्व बुझाउछन् । जडिबुटी संरक्षण र संकलनको लागी केन्द्र सरकारले स्थानीय सरकारलाई जिम्बेवारी दिएकाले राजश्वको दर छुट्टाछुट्टै छ । जिल्ला बन कार्यलयले अहिलेसम्म प्रतिकेजी २५ हजार राजश्व लिने गरेको छ ।
म्याग्दी जिल्लामा करिव ३२ केजी यार्सा संकलनको सम्भावना भएपनि २ देखि ५ केजिसम्म मात्र राजस्वको दायरामा आउने गरेको छ । अन्य यार्सा अबैध रुपमा खरिद विक्री हुदै आएको छ । संकलन भएको धेरैजसो यार्सा फुटकर रुपमा बेनी, बाग्लुङ्, पोखरा लगायतका बजारमा बिक्री हुनेगरेको छ । स्थानीय व्यापारीले बजारमा घरघरमा पुगेर यार्साको आकार अनुसार रु २०० देखि रु २ हजारसम्म बिक्री गर्ने गरेका छन् ।
कुईनेमङ्गले, चिमखोला र दानामा सानो मात्रामा यार्सा संकलन हुने हुदा संकलक आफै बजार पुगेर बेच्ने गर्छन । भने मुदि, लुलाङ्ग लगायतका ठाउँमा भने पोखरा, काठमाण्डौ लगायतका ठाउँबाट व्यापारीहरु गाउँमै खरिद गर्न आउने गरेका छन् ।उनिहरुले समय अनुसार प्रतिकेजी रु ६ लाख देखीँँ २० लाखसम्ममा खरिद गर्ने गरेको स्थानीयहरु बताउछन् ।
स्थानीय मानिसहरु भन्छन्, जलबायु परिवर्तनले गर्दा यार्साले लेक चाप्दै गएको छ भने उत्पादनमा पनि कमी आएको छ । अनौपचारिक कुरा गर्दा राखुका करिव ८० बर्षे बृद्धले बताउनुभयो, “ पहिले बुवाको पालामा रुईसेआसपास हिड्ने झार अहिलेको भाषामा यार्सा पाईन्थ्यो रे । बुवाहरु माथी लेखतिर (रुईसे) गोठ लगेर राख्नुहुन्थ्यो । त्यहाँ पाईने हिड्ने झार (यार्सा) खादा वस्तुभाउ निरोगी हुन्छन भनेर लाने गरेको बताउछन् । अर्थात रुईसेको उच्चाई करिव २ हजार ३०० मि. को हारहारीमा छ । तर अहिले यार्सा३८०० मि. माथी मात्र पाईने गरेको छ ।
अव्यवस्तीत संकलन, संरक्षणको कमिले गर्दा यार्सा संकलनमा कमि आएको महसुस गरेका छौ । पहिले भन्दा थोरै मात्रामा मात्र यार्सा भेटिन्छ । खोज्न गएका कति व्यक्ति त रित्तो हात फर्कने गरेका छन् । यस्तै हुने हो भने केहि दशकमा यार्सागुम्बा विलय भएर जानेछ,निरास हुदै मुदीका यार्सा संकलक चन प्रसाद घर्तिजि ले बताउनुभयो ।अहिले त मुल्य पनि राम्रो पाईएन, प्रतिकेजी मात्र साढे ६ लाख मात्र दिए ठेकेदारहरुले, पहिले त १६(१७ लाखसम्म नि हाल्ने गर्थे, भन्दै मुदिकै गणेस पुनले गुनासो गर्नुभयो ।
यार्सा बजारको अर्थ विश्लेषण र सुधारका पक्षहरु–

यार्सा बजारको अवस्था

यार्साको विश्व अर्थ बजारमा बार्षिक करिव ५ देखि १२ अर्व डलर बराबरको कारोबार हुन्छ । नेपालमा करिव ९ अर्ब रुपैयाँ बराबरको यार्साको व्यापार हुने गरेको छ । भने म्याग्दीमा करिव ३२ केजी यार्सा संकलनको हिसाब गर्दा, ३२ लाख ( नेपाली बजारको प्रयोग गर्दा) का दरले करोडौँमा यार्साको व्यापार हुनुपर्ने देखाउछ । यसैलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सक्ने हो भने न्युनतम १६ लाख अमेरिकी डलर अर्थात (१ डलर . १११.८८ रुपैयाँ, साउन ३० गतेको मुल्य सटई दर) १७करोड रुपैयाँ बराबर वैदेशिक मुद्रा भित्राउन सकिने सम्भावना देखिन्छ ।
अव्यवस्थित रुपले यार्सा बजार संचालित हुने भएको ले, स्थानीय यार्सा संकलकहरुले उचित मुल्य पाउन सकेका छैनन् ।केहि वडाका यार्सा संकलकहरुले ठुलो बजार क्षेत्रमा लगेर खुद्रा यार्सा, गोटाको २०० देखि २००० सम्म बेच्ने गरेको पाईन्छ । भने मुदी, लुलाङ्क लगायतका ठाउँमा भने पोखरा, काठमाण्डौं लगायतका ठाउँबाट व्यापारीहरु आएर यार्सा खरिद गर्ने गरेका छन् । उनिहरुले प्रतिकेजी ५ लाख देखि १५ लाख सम्म दिने गरेको मुदीका स्थानीय बासिले बताउछन् । एक परिवारले ३ देखि ४ लाखसम्म पनि प्रतिसिजन कमाउने गरेका छन् । २ महिना कडा मेहनत गर्ने हो भने एउटा परिवार सजिलै चल्न सक्ने आम्दानी यार्सा संकलकहरुले गर्ने गरेका छन् ।
यार्सा व्यापारीहरुले ठुलो जोखिम मोलेर, यस क्षेत्रमा हात हालेका हुन्छन् । त्यसैले उनिहरुले अत्याधिक नाफाको मार्जिन राख्ने गरेका छन् । यस बर्ष मुदीमा आएका यार्सा व्यापारीहरुले प्रतिकेजी मात्र ६.५ लाख रुपैया दिएका थिए । तर उनिहरुले काठमाण्डौंमा लगेर ३२ लाख सम्म विक्री गर्ने गरेका छन् । काठमाण्डौमा व्यापारिहरुबाट यार्सा संकलन गर्ने यार्साका अन्तराष्ट्रिय व्यापारीहरुले विदेशमा यार्साको गुणस्तर राम्रो छ भने ७० लाख सम्ममा विक्री गरिरहेका छन् ।
यार्सा बजार सुधार

यार्सा व्यापारबाट म्याग्दी जिल्लाले ठुलो अर्थ भित्राउने सम्भावना हुदाहुदै पनि सिमित मात्रामा लाभ लिईरहेको छ । सरकारी निकाय र स्थानीय यार्सा संकलकहरु विच सम्वन्य हुन नसक्दा तेस्रो र चौंथो पक्षले नाफाको ठुलो हिस्सा कमाउने गरेका छन् ।

देश अहिले संघियतामा गईसकेको अवस्था छ । संघिय निर्वाचन पछि देश संघ, प्रदेश र स्थानीय गरी तिन तहको सरकार वनिसकेको छ । संघिय सरकारले स्थानीय सरकारलाई स्थानीय जडिबुटी संरक्षण र संकलनको पुर्ण जिम्बेवारी सुम्पेको छ ।स्थानीय सरकारले थोरै जोखिम मोलेर यार्सा संकलक बाट सिधै यार्सा संकलन गरी अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सक्ने हो भने स्थानीय सरकारको आक्दानीको मुख्य श्रोत हुन सक्छ । भने स्थानीय यार्सा संकलकले पनि राम्रो मुल्य पाउने सम्भावना रहेको छ ।
अवस्थानीय सरकारले यार्सालाई ब्रान्डिङ गरेर विश्व बजारमा आफ्नो उत्पादनको प्रचार गर्नु पने देखिन्छ । ३ वा ५ गोटाका दरले यार्सा प्याकिङ गर्ने हो भने ठुलो मात्रामा विक्रि गर्न सकिने अवस्था छ । त्यस्तै विश्वमा यार्सा चियाको पनि ठुलो माग छ । प्याकेजिङ र लेवलिङ गरेर विश्व बजारमा पुर्याउन सक्ने हो भने यार्साबाट अधिकतम नाफा स्थानीय सरकारले लिन सक्छ । स्थानीय सरकारलाई यार्सा राम्रो आम्दानीको श्रोत बन्न सक्ने सम्भावना छ । यार्सा संकलन लाई व्यवस्तित गर्न सक्ने हो भने उत्पादन क्षमता बढाउन पनि सकिने सम्भावना रहेको छ ।
यार्सा संकलन, संरक्षण र व्यवस्थापन
यार्सा संकलन, संरक्षण र व्यवस्थापनको अवस्था
यार्सा टिप्ने सिजन शुरु भय पछि गाउँमा भेला बस्छ र एक परिवार बराबर ५००, १००० वा कुनै एउटा मुल्य वडा, युवा क्लव, स्थानीय भेलाले तोक्छ । गाउँ बाहिरबाट यार्सा संकलनका लागी आउनेका लागी छुट्टै दर तोक्छ । संकलनका गाउँ नै रित्तै हुने गरि मानिसहरु यार्सा क्षेत्रमा पुग्ने गरेका छन् । उनिहरु विच कसले धेरै संकलन गर्ने भनेर होडबाजी नै चल्छ । स्थानीय हरुले यार्सा संकलनमा सिन्डिकेट लगाउदै आएका छन्, गाउँ भन्दा बाहिरबाट यार्सा संकलनमा जान चाहानेहरका लागी ठुलो रकम लिने गरेका छन् ।
चरन क्षेत्रमा गाई, भैसि, भेडा लगायतका पाल्तु जनावर छोड्नु, यार्सा संकलनको बेला धेरै मानिसको भिडले गर्दा संकलन गर्दा छुटेका, विउ हुन सक्ने यार्साका बोट दवियर हावाको सम्पर्कमा आउन नसक्दा लार्भाहरुका प्रजनन÷यार्सा प्रकियामा कमि आईरहेको छ । भने संकलकले फालेको फोहोर व्यवस्थापन हुन नसक्दा यार्सा उत्पादनमा कमि आईरहेको छ ।
म्याग्दीको यार्सा सम्भावना र सुरक्षाको लागी सरकारी तथा गैरसरकारी निकायबाट अध्ययन र अनुसन्धान भएको छैन् । यार्सा धेरै लेकमा हुनेहुदा यसको सम्भावना र संरक्षणको लागी जिल्ला बन कार्यलयबाट कुनै गृहकार्य नभएको जिल्ला बन कार्यलयका साहायक अधिकृत राजकुमार ठाकुरले बताउनु भयो । बन कार्यलयबाट १ केजि यार्सा बापत २५००० राजस्व लिने गरेका छौ । स्थानीय निकायलाई स्थानीय जडिबुटी संरक्षण र संकलनको जिम्वेवारी दिएपछि धौलागीरी गाउँपालिकाले ५००० कर थपेको छ । सरकारले कल लिने मात्र काम गरेको छ, उहाँले थप्नुभयो ।

यार्सा संकलन, संरक्षण र व्यवस्थापनको लागी चालिनु पर्ने कदम  

यार्साको बजार दिनानुदनि बढ्दै गईरहेको छ । विश्वमा यार्साको माग धान्न नसकेर चिनले ल्यावमा लार्भा उत्पादन गरि, यार्साको कणसगँ सम्पर्क गराई कृतिम यार्सा उत्पादनको कार्य सुरु गरेको छ । तर नेपालले आफ्नो देशमा रहेको यार्सालाई संरक्षण गरि संकलन गर्न सकेको छैन् । कति उत्पादन हुन्छ भन्ने सम्म तथ्य सरकारसगँ नभएको अवस्था छ ।
शक्तिको विकेन्द्रीकरण पछि यार्साको संकलन र संरक्षणको जिम्मेवारी स्थानीय तहको हातमा आएको छ । अव स्थानीय तहले यार्सा संरक्षणको लागी कदम चाल्नुपर्ने बेला आएको छ । स्थानीय तहले यार्सा सरक्षणका लागी निम्न कार्य गर्दा केहि हदसम्म संरक्षण हुने देखिन्छ ।
ड्ड यार्साको उत्पादन बृद्धीका लागी कम्तीमा ३ बर्ष यार्सा संकलन पुर्ण रुपले बन्द गर्नु पर्छ
ड्ड ्आफ्नो स्थानीय तहमा कनि यार्सा छ, कुन प्रजातिको यार्सा छ भनेर अध्ययन, अनुसन्धान तत्काल गरिनुपर्छ ।
ड्ड यार्सा पाईने क्षेत्रमा वस्तुभाउ चरण कार्य तुरुन्त रोकिनु पर्छ ।
ड्ड यार्सा संकलकले गरेको फोहोर सममै व्यवस्थापन हुनुपर्ने देखिन्छ ।
ड्ड यार्सा संकलनमा रहेको सिन्डीकेटको अन्त्यका लागी योजना निमार्ण गर्नुपर्ने देखिन्छ ।
ड्ड यार्सा संकलकहरुलाई राजस्वको दायरामा ल्याउनका लागी पहल गर्नुपर्ने देखिन्छ ।

निष्कर्ष
म्याग्दीमा यार्सा संकलनको ३२ केजी सम्भावना भएपनी अति न्युन मात्रामा मात्र राजश्वको दायरामा आउने गरेको छ । यार्साको बजार ठुलो भएपनी यार्साको संकलन र व्यवस्थापन बैज्ञानिक तवरले हुन सकेको छैन् । आजसम्म सरकारी तथा गैरसरकारी तवर कहिकतैबाट सम्भावना र संरक्षणको अध्ययन पनी हुन नसकेको अवस्था छ । यदीयार्सा संकलन व्यवस्थीत गर्न सक्ने हो भने सवल स्थानीय अर्थतन्त्र निमार्ण तथा आर्थिक सामाजिक विकासको लागी यार्सालाई महत्वपुर्ण स्थानीय प्राकृतीक पुजिका रुपमा लिन सकिन्छ । चौरीखर्क तथा घाँसे मैदामा यार्साको अत्यधिक प्राकृतिक दोहनको भारलाई कम गरेर प्राकृतिक स्रोतलाई दिगो बनाउन र तीब्र रुपमा बढ्दो विश्व बजारलाई ध्यानमा राखेर व्यावसायिक रूपमा कृत्रिम उत्पादनको कार्य यथासिघ्र अगाडि बढाउनु उपयुक्त देखिन्छ ।

म्याग्दी बहुमुखी क्याम्पस स्नातक तह मानविकी संकाय दोस्रो बर्ष २०७५ का विद्यार्थीहरुले गरेको समाजशास्त्रीय अध्ययन प्रतिबेदनबाट तयार गरिएको सामाग्री

भदाैँ ३ गते  अार्इतबार