कालीगण्डकीले विद्यालय भवन बगाएको कोप्चेपानीको अवस्था यस्तो

  • ३१ श्रावण २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2271 पटक पढिएको

 


कोप्चेपानी (म्याग्दी) ३१ साउन । कालीगण्डकीले कक्षाकोठा भवन बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभू विद्यालयको पठनपाठन प्रभावीत भएको छ ।
बुधबार बिहान कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चाल नगर्न समस्या भएको हो ।बिहीबार देखि सुरु हुन लागेको पहिलो त्रैमासीक परिक्षाको अवधिका लागि स्थानीय टेकबहादुर बोहोराले घर उपलब्ध गराएका छन् । नियमित पठनपाठन र प्रशासनीक कामका लागि भवनको अभावले समस्या बनाएको प्रअ शान्ति राम्जालीले बताए । “विद्यालयका कागजात, फर्नीचर सबै भवनसंगै कालीगण्डकीले बगायो” प्रअ राम्जालीले भने “तत्काल अस्थाई र दिर्घकालीन रुपमा स्थाई भवनको आवश्यकता परेको छ ।”

कक्षा३ सम्मको पठनपाठन हुने विद्यालयमा बालशिक्षा सहितकरिब २० जनाबालबालिका अध्ययनरत छन । बोहोराले उपलब्ध गराएको घरको कोठामा पाल र म्याट्रेस बिछ्याएर परिक्षा सञ्चालनको तयारी भएको छ । कोप्चेपानी देखि केहीमाथि रहेको भालेबास भन्ने ठाउँमा विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी सुरु गरिएको प्रअ राम्जालीले जानकारी दिए ।बाढीले भवन बगाउँदा पच्चिस लाख रुपैया बराबरको क्षत्ती पुगेको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताए । बेनी–जोमसोम सडक विस्तारका क्रममा निस्कीएको माटो र गेगर सिधै कालीगण्डकीमा फालीदा नदीमा बाढीको सतह बढेर कटान गरेको उनको भनाई छ । विद्यालय परिसरमा रहेको आमा समूहको भवन पनी बगाएको छ । भने खड्का समुदायको कुलमन्दिर जोखिममा परेको छ । कोप्चेपानी देखि काभ्रे गाउँमा विद्युत लैजान गाडीएका पोल र तार समेत कालीगण्डकीले कटान गरेर बगाएपछि विद्युत आपुर्ती बन्द भएको छ ।

दश घरपरिवार विस्थापित

करिब बिस मिटर कटान गरेर विद्यालय भवन बगाएको कालीगण्डकीको धार बस्तीतर्फ सोझीएपछि कोप्चेपानीका बासिन्दा विस्थापित भएका छन् । कोप्चेपानीमा बसोबास गर्ने २४ मध्य उच्च जोखिममा रहेका १० घरपरिवार भालेबास भन्ने ठाउँमा गएर बस्न थालेका छन् । कालीगण्डकीले बस्तीतर्फ निरन्तर कटान गर्न थालेपछि घरका सामान भालेबासमा रहेको गोठमा सारेर त्यही बस्न थालेका स्थानीय गोपाल खड्काले बताए । गोपाल खड्का, बलबहादुर खड्का, दुर्गा खड्का, बृताकुमारी ज्वारचन, जगत बोहोरा, लक्ष्मी बोहोरा, यामबहादुर पुन, सुकबहादुर रोका, सितल गर्बुजा र यामबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।


अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाको टोलीले घटनास्थलको अनुगमन गरेको छ । तत्काल त्रिपाल उपलब्ध गराइएको र अस्थाई भवनका लागि जस्तापाता उपलब्ध गराउने अध्यक्ष पुनले बताए । शिक्षा ईकाईका प्रमुख थापाले गाउँपालिका, प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अस्थाई पूर्वाधार बनाएर पठनपाठनलाई निरन्तरता र दिर्घकालीन रुपमा पक्कि भवन बनाउन पहल गर्ने बताए  ।

 

सन्तोष गौतम