उद्यान निर्माणको लागि मंगला गाउँपालिकालाई करिब रु ४० लाख बराबरको जग्गा सहयोग (फाेटाे फिचर)

  • २९ श्रावण २०७५, मंगलवार
  • कमल खत्री
  • 6645 पटक पढिएको

म्याग्दी, २९ साउन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक पार्क निर्माणको लागि करिब रु ४० लाख बराबरको जग्गा प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल काठमाण्डौ निवासी क्याप्टेन इन्द्र बहादुर अधिकारीले ३ रोपनी, १५ आना ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क रुपमा गाउँपालिकालाई प्रदान गर्नुभएको हो । मंगलवार गाउँपालिकाले आयोजना गरेको जग्गादाता सम्मान कार्यक्रममा ७३ बर्षिय सहयोगदाता अधिकारीले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई गाउँपालिकाको नाममा पास गरिदिएको जग्गाकोे लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।

न्युनतम मालपोत दररेट अनुसार अधिकारीले ३९ लाख ९२ हजार १८८ मुल्य बराबरको जग्गा गाउँपालिकालाई प्रदान गर्नुभएको गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्यले जानकारी दिनुभयो । बावियाचौरदेखि पोक जाने पुल नजीकैको जग्गा अधिकारीले गाउँपालिकालाई प्रदान गर्नुभएको छ । गाउँपालिकाले छनौट गरेको बालबालिका तथा ज्येष्ठ नागरिक मैत्री पार्क निर्माण गर्ने योजनाको लागि अधिकारीले उपलब्ध गराउनुभएको जग्गाले ठुलो सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । जग्गादाता अधिकारीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष रोकाले उहाँको सहयोगको गाउँपालिकाले उच्च मुल्याङ्कन गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पौडेलले जग्गादाता अधिकारीलाई सम्मान पत्र सहित टिका, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उहाँलाई सो अवसरमा बाजागाजा सहित सम्मान स्वरुप बावियाचौर बजार परिक्रमा समेत गराइएको थियो । कार्यक्रममा बोल्दै सहयोगदाता अधिकारीले आफु जन्मिएको ठाउँमा ज्येष्ठ नागरिक र बालबालिकाहरुको लागि उद्यान बनाउने योजनामा आफुले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘‘ म यही ठाउँमा जन्मिएर हुर्किए, अहिले काठमाण्डौमा रहेपनि आफु जन्मेको ठाउँको विकासमा सहयोग पुगोस भनेर जग्गा दिएको हुँ,’’–उहाँले भन्नुभयो ।

कार्यक्रममा मंगला गाउँपालिका–२ का वडा अध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता धनबहादुर खाती, जनआदर्श महिला सहकारीका अध्यक्ष यसोदा रोका मगर, मंगला शिक्षा क्याम्पसका अध्यक्ष श्रीराम पौडेल, मंगला माविका भुपु प्राचार्य दिर्घ बहादुर खड्का लगायतले सहयोगदाता अधिकारीले गर्नुभएको सहयोगको प्रसंसा गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष केसीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कार्यकारी सचिब आचार्यले गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l