गौरबका आयोजनालाई ताकेता गरौँ, ढिलासुस्ती अब स्विकार्य हुँदैनः मुख्यमन्त्री गुरुङ

  • २४ श्रावण २०७५, बिहीबार
  • कमल खत्री
  • 2186 पटक पढिएको

म्याग्दी, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय गौरबका आयोजनाहरुलाई समयमै सम्पन्न गराउन चौतर्फि ताकेता गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाको विहिवार बेनीमा उद्घाटन गर्दै मुख्य मन्त्री गुरुले प्रदेश नम्बर ४ भित्र रहेका पोखरा अन्र्तराष्ट्रिय विमानस्थल, कालिगण्डकी करीडोर, मध्यपहाडी लोकमार्ग लगायतका योजनाहरुलाई समयमै सम्पन्न गराउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘‘ यि योजनाहरु कार्यान्वयनले गण्डकी प्रदेशमा विकास र समृद्धिको मुल फुट्छ, तर हामीले यो योजना संघिय सरकारको हो भनेर पन्छियौँ भने त्यो गैरजिम्मेबार हुन्छ, हामीले हाम्रो तर्फबाट नियमित अनुगमन र निरक्षण गरि संघिय सरकारलाई निरन्तर घचघचाइरहनुपर्छ’’–मुख्यमन्त्री गुरुङले भन्नुभयो । कालिगण्डकी करिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला खण्डको काम सुस्त भएको गुनासो बढेको बताउँदै उनले हालै आफुले यस सडक आयोजनाको स्थलगत अनुगमन समेत गरिसकेको बताए । ११ वटा निर्माण व्यवसायिहरु परिचालन भएको मध्ये चार वटा कम्पनीले ५ प्रतिशत पनि काम नगरेको पाईएको उनले जानकारी दिनुभयो ।

‘‘समस्या भए भन्नुहोस भनेका छौँ, अब कसैले पनि बाहाना बनाएर ढिलासुस्ती गरे कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ छौँ, जिम्मा लिने र काम नगर्ने प्रचलनलाई निरुत्साहीत गर्नुपर्छ’’–उहाँले भन्नुभयो । संघिय सरकारले राष्ट्रिय गौरबका आयोजनाहरुको अनुगमनमा चासो नदिनु गैरजिम्मेवार भएको बताउँदै गण्डकी प्रदेशले आफ्नो क्षेत्रमा सञ्चालन हुने यस्ता आयोजनाहरुलाई प्रभाबकारी कार्यान्वयनको लागि सहजीकरण र ताकेता गर्ने निती लिएको समेत मुख्य मन्त्री गुरुङले बताउनुभयो ।

विगतमा विकास निर्माण योजनाहरुमा चरम लापरबाही र भष्ट्राचार हुने गरेको उल्लेख गर्दै उनले आगामी दिनमा हरेक सरकार र संयन्त्रले त्यस्ता गतिविधि नियन्त्रणको लागि निरन्तर अनुगमन र खवरदारीमा जुट्नुपर्ने आबश्यकता औँलयाउनुभयो । विकास निर्माणमा हुने अप्ठ्यारा र झण्झटलाई हटाएर लगानीमैत्री वातावरण बनाउनतर्फ प्रदेश सरकारको ध्यान गएको मुख्य मन्त्री गुरुङको भनाई थियो । ‘‘कालिगण्डकी करिडोर र कोरला नाका गण्डकी प्रदेशको भाग्यरेखा हो, यसलाई हामीले कालिगण्डकी नदीको किनारै किनार गैडाकोट हुँदै त्रिवेणी नाकासम्म जोडने र पोखरासंग पनी कनेक्सन गराउने गरि गृहकार्य गरिरहेका छौँ,’’– गुरुङले भन्नुभयो ।

उहाँले स्थानीय तहका जनप्रतिनिधिहरु डोजर मोहमा फसेको गुनासो बढेको भन्दै अपरादर्शी काममा नलाग्न सुझाब समेत दिनुभयो । राजनितिक स्थिरतासंगै विकासको ढोका खोल्ने महत्वपूर्ण अवसरमा देश रहेको बताउदै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरण सिर्जना गर्नू सबै तहका सरकारको दायित्व रहेको बताउनुभयो । लामो राजनितीक आन्दोलन र संघर्षले मुलुकमा लोकतन्त्र, गणतन्त्र हुँदै संघियता कार्यान्वयनमा आएको उल्लेख गर्दै अहिलेको व्यस्थालाई सफल बनाउन सकेमा मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा राख्नुभयो ।

जिल्लाभित्र रहेका विकास निर्माण योजनाहरुलाई प्रभाबकारी कार्यान्वयनको लागि जिल्ला समन्वय समितिलाई नियमित अनुगमन गर्न निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले संघियताको कारण मुलुकभरका ७६१ वटै सरकारहरुको लागि नयाँ अनुभव रहेकाले आफ्नो भुमिका र क्रियाशिलता आफै खोज्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका साँसद भुपेन्द्र बहादुर थापाले स्थानीय तहलाई बलियो बनाउन कर्मचारीहरुको अभाबलाई पुर्ति गर्नतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले कृषि, पर्यटन, जलस्रोत र जमिनको उपयोग मार्फत प्रदेशलाई विकसीत र समृद्ध बनाउन सकिने भएकाले सबै क्षेत्रबाट विकासको अभियानमा हातेमालो आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दीको विकासमा पूर्वाधारको अभाब प्रमुख समस्या रहेको उल्लेख गर्दै संघिय र प्रदेश सरकारले यहाँको विकास निर्माणमा बिशेष ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष राजेन्द्र ढुंगाना, पर्वतका अध्यक्ष मनोहर बि पौडेल, पूर्व सभासदत्रय गोविन्द पौडेल, नवराज शर्मा, रेशम बानियाँ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका कार्यबहाक सभापती माधव रेग्मी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालु, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, गैसस महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल, सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदीले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गनुर्भएकाे थियाे भने  जिल्ला समन्वय समितिका सदस्य शेर बहादुर केसीको स्वागत र कार्यालयका गोविन्द सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l