बेनी नगरपालिकाद्धारा प्रदेश सरकारसंग साझेदारीका योजना प्रस्ताव

  • २४ श्रावण २०७५, बिहीबार
  • 1982 पटक पढिएको

बेनी २४ साउन । बेनी नगरपालिकाले प्रदेश सरकारसंग साझेदारीमा योजना सञ्चालन गर्न प्रस्ताव गरेको छ । नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा चार वटा पूर्वाधार आयोजना साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरेको हो । मुख्यमन्त्री गुरुङलाई नगरप्रमुख हरिकुमार श्रेष्ठले ९२ करोडका योजना प्रस्ताव गर्नुभएको थियो ।

१४ करोडको बेनी बसपार्क, सात करोडको खुल्ला मञ्च खेलमैदान स्तरोन्नती तथा मिनी स्टेडियम, पचास करोडको बेनी रत्नेचौर ज्यामरुककोट भकिम्ली, सिंगा, पुलाचौर, अर्थुंगे, घतान र पात्लेखेत जोड्ने चक्रपथ र १२ करोडको रामायण पार्क निर्माण योजनामा साझेदारी गर्न नगर प्रमुख श्रेष्ठले मुख्यमन्त्री गुरुङलाई प्रस्तावनापत्र हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रममामुख्य मन्त्री गुरुङले सन्तुलीत विकास र समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि प्रगतिशिल कर निती अपनाउनुपर्ने बताउनुभएको थियो । स्थानीय, प्रदेश र संघीय सरकारले एकै शिर्षकमा कर लिन थालेको भनेर फैलाइएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कर संकलन, अधिकार क्षेत्रका विषयमा भएका कानुनी अस्पष्टता र अन्यौल हटाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्राथमिकताका साथ छलफल अघि बढाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो । उहाँले प्रदेश सरकारले जग्गा बाँझो राखेवापत कर तिराउने र खेतीयोग्य जमिनको उपभोग गर्नेलाई प्रोत्साहन गर्ने निती लिने बताउनुभयो ।

राजनितिक स्थिरतासंगै विकासको ढोका खोल्ने महत्वपूर्ण अवसरमा देश रहेको बताउदै मुख्यमन्त्री गुरुङले अबैध रुपमा ढुङ्गा, गिटी र बालुवा लगायत प्राकृतिक स्रोत साधनको दोहन र चोरी निकासी बढेकाले त्यसलाई नियन्त्रणका लागि स्थानीय तहलाई आग्रह र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
आगामी पाँच वर्षभित्रमा सबै स्थानीय तहको केन्द्रसम्म ग्राभेल सडक, प्रदेशका सबै बस्तीमा विद्युत र खानेपानी सुबिधा विस्तारका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरेर कार्यान्वयनका लागि विस्तृत अध्ययन सुरु गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

यसैबीच मुख्यमन्त्री गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, संघीय सांसद भुपेन्द्र थापा, प्रदेश सांसद बिनोद केसीको टोलीले बेनी पुस्तकालयको भवनमा सञ्चालीत उज्यालो बैकल्पीक विद्यालयको अनुगमन गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले बिहीबारनै कार्यालय प्रमुखहरुलाई निर्देशन र कार्यकर्तासंग भेटघाट समेत गर्नुभएको छ ।