निस्कोटका आगलागि पिडित पुन परिवारलाई प्रवासबाट करिब तीन लाख आर्थिक सहयोग

  • ११ चैत्र २०७३, शुक्रबार
  • 4664 पटक पढिएको

म्याग्दी, ११ चैत । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका आगलागि पिडित केशव पुनको घरपरिवारलाई प्रवासीहरुको पहलमा आर्थिक सहयोग जुटाईएको छ ।  गत माघ १४ गते आगलागिले घर पूर्ण रुपमा क्षति भएका पुन परिवारलाई जापानमा रहेका निस्कोटका रुपेश चोचाङ्गे मगर र मलेसियामा रहेका निस्कोटका कुशल पुन मगरको पहलमा संकलन भएको करिब रु ३ लाख सहयोग पिडित पुन परिवारलाई हस्तान्तरण गरिएको छ ।   

निस्कोट माविमा आयोजित एक कार्यक्रममा आगलागि पिडित पुन परिवारको सहयोगार्थ संकलन भएको रु २ लाख ९९ हजार ४७९ सहयोग रकम अभियानका अभियन्ता रुपेश चोचाङ्गे मगरको  उपस्थितिमा हस्तान्तरण गरिएको थियो । सहयोग रकम बुझ्दै आगलागि पिडित पुनले आफुलाई आईपरेको विपत्तिमा प्राप्त भएको सहयोगले राहत महशुस गरेको बताउँदै सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पुन परिवारको लागि सञ्चालन गरिएको राहत सहयोग जुटाउने अभियानमा सो रकम करिब एक सातामै जुटेको मलेसियामा रहेका अभियन्ता कुशल पुनले जानकारी दिनुभयो ।

‘‘ आगलागिले घरसंगै ठुलो धनसम्पतीमा क्षती पु¥याएपछि हामीले आर्थिक संकलन गरेका हौँ, सेवा नै धर्म हो भन्ने नारा सहित पिडित पुन परिवारलाई सहयोग अभियान चलाएपछि म्याग्दी संगै विभिन्न ठाउँबाट प्रवासमा रहनुभएका व्यक्तिहरुले सहयोग गर्नुभएको हो,’’– अभियन्ता मगरले भन्नुभयो । उहाँका अनुसार पुन परिवारको राहतका लागि मुलुकका विभिन्न ठाउँमा रहेका निस्कोटबासीले समेत सहयोग गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि निस्कोट मा.वि.का प्रधानध्यापक हरीबहादुर पुन, संगम म्याग्दीका सामाजिक परिचालीका तेजकुमारी शेरपुञ्जा पुन , बुद्धिबहादुर पुन, दिलकुमार पुन, पुकार घर्ती, तारा बराईली, तनदेवी पुर्जाले समेत मन्तव्य राख्नु भएको थियो । निस्कोट माविका उपाध्यक्ष यामबहादुर चोचाङ्गे मगरको अध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण यूवा क्लबका अध्यक्ष डबहादुर पुनको स्वागत मन्तव्य र कुमबहादुर चोचाङ्गे मगरको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।