उद्यमी र सामुदायीक संस्था पुरस्कृत

  • २८ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2662 पटक पढिएको

म्याग्दी २८ असार । गरिवी निवारण कोषले परिचालन गरेको घुम्ती कोषबाट ऋण लिएर नमुना उद्यम व्यवसाय गर्ने म्याग्दीका उद्यमी र सामुदायीक संस्थालाई बिहीबार बेनीमा पुरस्कृत गरिएको छ ।
गरिबी निवारण कोष र जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा दुई वटा सामुदायीक संस्था, एक वटा उत्पादन समूह र दुई जना उद्यमी पुरस्कृत भएका हुन् । रघुगंगा गाउँपालीका ३ को रघुगंगा र अन्नपूर्ण गाउँपालिका ६ घारको देउराली कृषक समूह तथा मालीका गाउँपालिका ५ देविस्थानको चेतना उनी स्विटर उत्पादन समूहलाई नगद पन्ध हजार रुपैया पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी घारका रामचन्द्र बरुवाल र सन्तोषी राना मगरलाई उत्कृष्ट सदस्यको रुपमा नगद बाह् हजार पाँच सय रुपैयाका दरले पुरस्कृत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ लिलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदी लगायतले संस्थाका पदाधीकारी तथा सदस्यहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद वितरण गर्नुभएको थियो ।संगम म्याग्दीका कार्यक्रम संयोजक रश्मि बानिया खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा जिसस प्रमुख केसीले कोषले परिचालन गरेको घुम्ती कोषलाई निरन्तरता दिन स्थानीय तहले पहल गर्नुपर्ने बताउनुभयो ।

रघुगंगा सामुदायीक संस्थाकी सचिव बिमला शर्मा र नमुना सामुदायीक संस्था पिप्लेकी सन्तोषी राना मगरले घुम्ती कोष गरिब, विपन्न महिलाहरुका लागि बरदान सावित भएको बताउनुभयो । संगम म्याग्दी र धौलागिरी सामुदायीक स्रोत विकास केन्द्रले म्याग्दीका २५ वटा वडामा सामुदायीक सस्था मार्फत करिब पाँच करोड रुपैया परिचालन गरेका छन् ।

सन्तोष गौतम