पुल बनाउँदा पाएको ज्याला विद्यालयलाई सहयोग

  • २८ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2843 पटक पढिएको

म्याग्दी, २८ असार । म्याग्दीको धौलागिरी गाउँपालिका २ खोरीयाका बासिन्दाले ज्याला वापत पाएको नगद सामुदायीक विद्यालयलाई सहयोग गरेका छन् ।

धनमाने स्थित दरखोला माथि झोलुङ पुल निर्माणका क्रममा मजदुरी गरेका खोरीयाका बासिन्दाले ज्याला वापत पाएको दुई लाख रुपैया सामुदायीक विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराएका हुन् ।

पुल निर्माणका लागि काम गरेका ७२ घरधुरीले ज्याला वापत पाएको दुई लाख रुपैया खोरीया आधारभुत विद्यालयलाई उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष चकबहादुर सिङकीजाले जानकारी दिनुभयो ।

अध्यक्ष सिङकीजाका अनुसार स्थानीयबासीले ज्याला वापत पाएको १५ लाख रुपैया मध्य दुई लाख रुपैया विद्यालयलाई सहयोग गरेका हुन् । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु), गाउँपालिका र मिलन म्याग्दीको आर्थिक प्राबिधिक, निर्माण सामाग्री सहयोग तथा स्थानीयबासीले श्रमदान गरेर २७ लाख पचास हजार रुपैयाको लागतमा ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेका छन् ।

पुल निर्माण भएपछि खोरीयाका ८१ घरधुरी लाभान्वित भएका छन् । लमसुङको जुगेपानीमा बर्खामा पहिरोका कारण आवत जावत बन्द भएपछि मुना हुदै लुलाङ, लमसुङ, गुर्जा र ढोरपाटन जानका लागि समेत यही पुलको प्रयोग हुन थालेको छ । यसअघि काठको जिर्ण पुलबाट जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था थियो ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ज्याला वापत पाएको रकम विद्यालयलाई सहयोग गरेर खोरीयाका बासिन्दाले नमुना काम गरेको बताउनुभयो । उहाँले शून्य दरबन्दिमा सञ्चालीत प्रस्तावीत सामुदायीक विद्यालयको सहयोगका लागि आगामी आर्थिक वर्षमा १८ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको बताउनुभयो ।

कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा करिब एक सय जना विद्यार्थी अध्ययनरत छन् । ८ जना शिक्षक कर्मचारी मध्य ५ जना निजी स्रोतका छन् । उनिहरुको तलबभत्ताका लागि मासीक असी हजार रुपैया समुदाय स्तरबाट जुटाउने गरिएको छ । बिदेशबाट गाउँमा आउनेलाई नाचगान र स्वागत तथा चन्दा अभियानबाट आर्थिक स्रोत जुटाउने गरिएको छ ।

सन्तोष गौतम