निस्कोटमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

  • २५ असार २०७५, सोमबार
  • 1897 पटक पढिएको

म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा आइतवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षमा सञ्चालन भएका विकास निर्माण योजना, कार्यक्रम तथा कार्यालयको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको हो । गाउँपालिकाको ७ वटै वडाहरुमा मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

निस्कोटमा आयोजित कार्यक्रममा स्थानीयले विकास निर्माण योजना तर्जुमा गर्दा पर्यटन र रोजगारि सिर्जना हुने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, कृषि प्राविधिकलाई नियमित सेवा प्रवाहमा खटाउनुपर्ने, मोटरबाटो नियमित सञ्चालन गर्नुपर्ने लगायतका माग गरेका छन् । कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै वडा अध्यक्ष टंक प्रसाद पुनले सिमिति स्रोत र साधनकोबिचमा पनि वडाका हरेक नागरिकलाई छिटो र छरितो सेवा प्रवाह गर्न आफु निरन्तर लागिपरेको बताउनुभयो ।
उहाँले समग्र निस्कोटलाई विकास मार्फत अगाडी बढाउन आफुले पर्यटन, कृषि, सडक, विद्यूतिकरण लगायतको क्षेत्रमा नतिजाउन्मुख पहल गरिरहेको बताउनुभयो ।

चालु आर्थिक बर्षमा सञ्चालन भएका विकास निर्माण योजनाहरु अधिकाँश सम्पन्न भैसकेको उहाँले जानकारी दिँदै आगामी बर्षको लागि छनौट भएका योजनाहरुलाई समयमै सम्पन्न गराउनको लागि समेत आ–आफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्न निस्कोटबासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा संगम म्याग्दीका कार्यक्रम व्यवस्थापक धु्रब सुवेदीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चारकर्मी द्धय अमित विश्वकर्मा र कमल खत्रीले सहजीकरण गर्नुभएको थियो । वडा सदस्य दिलकुमार पुनले स्वागत र वडा सचिबा सोम बहादुर केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अवसरमा पूर्ण अपांगता भएकी रितिका पुनको अभिभावक दिलमायाँ पुनलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको थियो ।