रुईसे –भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढ्यो

  • ९ असार २०७५, शनिबार
  • धिरन खत्री
  • 3192 पटक पढिएको


म्याग्दी, ९ असार । छोटो दुरि, प्राकृतिक दृष्यले रमणिय ठाउँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे– भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढेको छ । नजीकबाट उदाएको सुर्यका किरण, पश्चिममा रहेको धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ मुस्कुराइरहेको हिमालको लोभलाग्दो दृष्यले गर्दा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो ।

समन्द्री सतहदेखि २२२० मिटर उचाईमा रहेको रुईसे–भेडिओढारमा गाउँपालिका र वडाको सक्रियतामा सडक संजाल, भ्यूटावर र म्याग्दी जेसीजको सक्रियतामा रुईसे भ्यू पोईन्ट स्थापना गरेपछि आन्तरिक पर्यटकको सख्या बढेको हो । विदाको दिन वा फुर्सदमा युवायुवती, स्थानीय, सदरमुकाम, संघसंस्था र विद्यालयबाट प्राकृतिक मनोरम दृष्यसंग रमाउन दैनिक रुपमा रुइसेमा पर्यटक पुग्ने गरेका छन् । २२२० मिटर उचाईमा रुईसेमा रहेको भ्यूटावर र २५२० मिटरमा भेडिओढारमा रहेको प्राकृतिक भ्युपोईन्टबाट देखिने दर्जनौ हिमशृखलाले आन्तरिक पर्यटकको सख्या बढ्दै छ ।

प्रकृतिले दिएको प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाउँ रुइसे– भेडिओढार भौतिक पुर्वाधारको अभावमा ओझेलमा परेको अवस्थामा गाउँपालिका र वडाले भ्यूटावर र सडक संजाल र विभिन्न संघसस्थाले कार्यक्रम तथा बनभोज आयोजना गर्दैै गएपछि पछिल्लो समय छोटो दुरिमा घुम्ने पर्यटकको रोजाईमा रुईसे–भेडिओढार परेको हो । सो स्थलबाट गाउँपालिकाको केन्द्रसंगै अन्य वडाहरु र पर्यटकियस्थल टोड्के, सदरमुकाम बेनी, जलजला गाउँपालिका, पञ्चकोट लगायतका प्रसिद्धस्थलहरु देखिन पाउनु रुईसे भ्यूटावरको विशेपता रहेको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताए । बाईसेचौविसे राजाको पुरातात्विक सम्पदा पर्यटकको थप आर्कषण हो ।

जिल्लाको सदरमुकाम बेनी देखि प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिर हुदै रघुगंगगा गाउँपालिकाको पिप्ले, भगवती कोट मन्दिर, डोडकोट, सिजलगाउँ खेलमैदान, रोटेपानी, रुईसे भुमेमन्दिर, तत्कालिन बाईसे राज्य ताका बनाइएको दरवारको भग्नाबशेस, राजाले धान कुट्ने ओखल, राजाले पानी खाने कुवा, राजाको चौतारी, राजाको सुत्ने ढुङ्गा हुदै थानकोट डिल पुग्न सकिन्छ । रुईसे थानकोटसंगै दर्जनौ हिमशृङ्खलाहरु अध्ययन गर्न ताराखोसे चौर, भन्ज्याङ खोला हुदैँ सप्तरंगि लालिगुरास जंगलको यात्राबाट प्राकृतिक भ्युटावर भेडिओढार पुग्न सकिन्छ ।

आन्तरिक पर्यटकलाई विहानको सुर्य उदाएको, वनजंगलको विभिन्न चराचुरुङ्गीको आवाज र भेडा गोठहरुको बथानसंगसगै लामो समय बस्ने वातावरण सिर्जना गर्न आकषिर्त पुर्वाधार तथा होटल निर्माण बनाउन आवश्यक देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l