सिडिओ साप ! साँधसिमाना एउटै तर, मूल्य कसरी फरक ?

  • ७ असार २०७५, बिहीबार
  • गोपाल छन्त्याल
  • 2337 पटक पढिएको

बेनी, ६ असार । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एकै प्रकृतिका दुई आयोजनालाई एउटै स्थानमा फरक मुआब्जा निर्धारण गरेको पाईएको छ । रघुगंगा–३ पिप्लेको अम्बाङ क्षेत्रमा निर्माण गरिन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन र २२० केभीए कालीगण्डकी करिडोर प्रशारण लाइनको टावरका लागि निर्धारण गरिएको मूल्य २ लाख ५० हजार रुपैयाँ फरक छ । आयोजना फरक भएपनि दुबै विद्युत प्राधिकरणको लगानीमा बन्दै छ ।

प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत आयोजनालाई अम्बाङमा निर्माण हुने सबस्टेशन मार्फत २२० केभीए प्रशारण लाइनमा जडान गर्ने योजना बनाएको छ । सबस्टेशन र २२० केभीए प्रशारण लाइनको एउटा टावरको साँधसिमाना एउटै भएपनि मूल्य फरक पाईएको हो । करिब पाँच महिना अघि प्रशासनले सोही टावर रहने अम्बाङ क्षेत्रलाई प्रतिरोपनी ६ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेको थियो । सोही अनुसार, अहिले त्यहाँ टावर निर्माणका लागि जग खन्ने काम भइरहेको छ । अम्बाङमा निर्माण हुने यो टावर म्याग्दी खण्डमा निर्माण हुने अन्तिम टावर हो ।

यहि टावर र पर्वतको बासखर्क भन्दा तल्लो भागमा निर्माण भइसकेको टावरले कालीगण्डकीलाई पार गर्नेछ । टावर निर्माणका लागि चाहिने जग्गाबाट बचेको जग्गा नै सबस्टेशन निर्माणमा प्रयोग हुने भएपनि नियतवश कम मूल्य निर्धारण गरिएको जग्गाधनी प्रकाश शर्माले बताए । ‘करिब पाँच महिना अघिको मूल्य ६ लाख ५० हजार, अनि अहिलेको मूल्य ४ लाख तोकिएको छ’, उनले भने, ‘यो कसरी न्यायचित र व्यवहारिक भयो ?’ सबस्टेशनका लागि अम्बाङको ९० रोपनी जग्गा अधिग्रहण गर्न प्रशासनले बेनी–जोमसोम सडकले छुनेलाई ५ लाख र माथिल्लो खण्डलाई ४ लाख रुपैयाँ मूल्य निर्धारण गरेको थियो । प्रशासनको निर्णय न्यायचित र व्यवहारिक नभएको भन्दै जग्गाधनीहरु आन्दोलित भएका छन् ।

आयोजना प्रभावित क्षेत्र संघर्ष समितिका अध्यक्ष कृष्ण बहादुर मल्लले प्रशासनले छोटो अवधी बीचमा कसैको प्रलोभनमा परेर अन्यायपूर्ण निर्णय गरेको आरोप लगाए । ‘जग्गा पहिरो जाने खालको छ, ओरालो छ भनिएको छ’, उनले भने, ‘हामीले बर्षौदेखि कमाई खाएको जग्गालाई जर्बरजस्त हड्प्न पाइदैन ।’ उनले एउटै प्रकृतिका आयोजनालाई कसरी मूल्य फरक हुन्छ भन्दै भने, ‘पहिरो जाने भए त्यो टावरलाई नी बगाउँछ, जँगल भए त्यो टावर पनि जँगलमै छ ।’ प्राधिकरणले १६ जना जग्गाधनीबाट ९० रोपनी जग्गा अधिग्रहण गर्ने तयारी गरिरहेको छ । जसमा ४५ रोपनी एकै घरको जग्गा परेको छ भने बाँकी १५ परिवारको छन् ।

भवदत्त शर्माको ५ रोपनी जग्गा परेको छ । उनले धान रोपाईँ गर्ने जग्गा नै यहि हो । यसका अतिरिक्त उनको कहिकतै जग्गा छैन । वडाअध्यक्ष जीवन मल्लले प्रशासनले पूर्वग्राही ढँगले मूल्य निर्धारण गरेपछि जग्गाधनीहरु आक्रोशित भएको बताए । ‘पहिला जग्गाको दररेट बारे जानकारी माग भएपछि हामी वडा कार्यालय मार्फत १२ देखि १८ लाख रुपैयाँसम्मको मापदण्ड बनाएर पठायौँ’, उनले भने, ‘तर, म आफै सदस्य रहेको उपसमितिले मलाई नै जानकारी नदिई अकस्मात यो निर्णय ग¥यो, त्यसमा हामीले पूर्ण असहमति जनाएका छौँ ।’ वि.स २०६७ सालमा ४२ मेगावाट रघुगंगा हाइड्रोले सडक नपर्नेलाई समेत प्रतिरोपनी पिप्ले क्षेत्रमा ४ लाख ५० हजार र मौवाफाँट क्षेत्रमा ५ लाख निर्धारण गरिएको भन्दै वडाअध्यक्ष मल्लले प्रशासनले निर्धारण गरेको मूल्य कुनैपनि हालतमा मान्य नहुने उनले बताए ।

-रिखार दैनिक

गोपाल छन्त्याल