समाचार प्रभाव : घुस खाने शिक्षाका ईञ्जिनियर र प्राबिधिक बर्खास्त

  • ३० जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2911 पटक पढिएको

म्याग्दी ३० जेठ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानविनमा परेका शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् ।

उनिहरुको करार सेवाको सम्झौता रद्द गरेर उजुरीको विषयमा छानविनका लागि प्रशासन कार्यालय मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाईल पठाइएको ईकाईका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । धौलागिरी गाउँपालिका ३ दरको सुर्यज्योती आधारभुत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरुले जेठ ७ गते गरेको खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गरेका थिए ।

आर्थिक वर्ष २०७२७३ मा सुरु भएको १९ लाख पचास हजार रुपैया बिनियोजित तिन कोठे भवनको नापचाँजका क्रममा २०७४ असोजमा बिस हजार घुस लिएको उजुरीमा उल्लेख छ । यसैगरी २०७४७५ मा ३१ लाख पचास हजार रुपैया बजेटको तिन कोठे ट्रस भवन योजना पारीदिने भनेर दुई लाख पचास हजार रुपैया माग गरेका खनालले प्राबिधिक उप्रेती मार्फत पहिलो किस्ता पेश्कि निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी पचास हजार रुपैया लिएको आरोप लागेको छ ।

पुरानो योजनाको फरफारकका क्रममा थप ६३ हजार माग गरेका थिए । उनिहरुले मागे अनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनी पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ । शिक्षामा परेको उजुरी र आरोपीत कर्मचारीहरुले पेश गरेको स्पष्टीकरण सहित थप छानविनका लागि अख्तियारमा पठाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो ।

आरोपीत ईञ्जिनियर र प्राबिधिकले भवन निर्माण समितिले सम्झौता र नक्सा अनुसारको काम नगरेको पाईएपछि पुन नक्सा बनाउँदा परामर्शदर्ता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाइएको दावी गर्दै आएका छन् । विद्यालय स्रोतका अनुसार उजुरी परेपछि उनिहरुले घुस लिएको रकम फिर्ता गरेर उजुरी फिर्ता लिन दवाव दिदै आएका छन् ।

सन्तोष गौतम