डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण

  • २१ जेष्ठ २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2332 पटक पढिएको

दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित कार्यक्रममा सो सामाग्री वितरण गरिएको थियो ।

परम्परागत खेती प्रणालीमा आधुनिक प्रबिधीको प्रयोग मार्फत ब्यवसायीकतातर्फ आकर्षित गरी तरकारीको उत्पादन वृद्धी र कृषकहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सामाग्री वितरण गरिएको कृषि सेवा शाखाका प्रमुख रविन्द्र अधिकारीले बताउनुभयो ।

छ हजार रुपैया प्रतिगोटा बजार मूल्य रहेको एउटा पलास्टीक टनेललाई कृषकलाई ४७५ रुपैया मात्र लिएर उपलब्ध गराइएको हो । सेउलुङ, औला, ईग्रे क्षेत्रमा ब्यवसायीक तरुल खेती विस्तार गर्ने उद्देश्यले तरुलको विउ निशूल्क वितरण गरिएको जनाइएको छ । कृषि सामाग्री वितरण कार्यक्रममा गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले कृषि उत्पादन र आयआर्जन वृद्धीका लागि कृषिमा प्रबिधिको प्रयोगसंगै ब्यवसायीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारको सहयोगको सदुपयोग गर्नेलाई प्रोत्साहन र दुरुपयोग गर्नेलाई आगामी दिनमा त्यस्तो सुबिधा नदिइने स्पष्ट पार्दै सामाग्रीको सही परिचालन गर्न आग्रह गर्नुभयो । उपाध्यक्ष खरमाया बिटालुले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न सकिने सम्भावना रहेको बताउँदै कृषकहरुलाई ब्यवसायीक रुपमा अघि बढ्न आग्रह गर्नुभयो । उहाँले पचास प्रतिशत अनुदानमा यस वर्ष सात वटै वडामा एक एक वटाका दरले मिनीटिलर हलो समेत वितरण गर्न लागिएको जानकारी दिनुभयो ।

स्थानीय युवा दिलीप पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा अगुवा कृषक रनबहादुर पटेलले गाउँपालीकाको सहयोगबाट उत्साहीत बनेको बताउनुभयो ।

सन्तोष गौतम